गैँडा स्थानान्तरण कार्य सुरु
चैत्र–२१ । चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरण गर्ने कार्य आजदेखि सुरु गरिएको छ । चितवनबाट शुक्लाफाँटामा एक भाले र चार पोथी गैँडा स्थानान्तरण गरिँदैछ ।
यसै क्रममा आज बिहान १० बजेर २४ मिनेट जाँदा निकुञ्जको सुखिभारको घाँसे मैदानमा एउटा भाले गैँडालाई डार्ट (बेहोस बनाउने औषधि राखिएको गोली बन्दुकले हान्ने काम) गरेर स्थानान्तरणका लागि ट्रकमा राखिएको छ । साँझसम्ममा सोही क्षेत्रबाट अर्को एक पोथी गैँडा डार्ट गरी शुक्लाफाँटा लैजाने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।
पहिलो भाले गैँडालाई निकुञ्जका प्रविधिज्ञ तीर्थबहादुर लामाले रुखमा चढेर डार्ट गरेका थिए। डार्ट गरेको पाँच मिनेटमा गैँडा घाँसे मैदानमा ढलेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । तीस वटा हात्तीले घेरा हाली गैँडालाई बीचमा पारेर डार्ट गरिएको थियो । करिब १५ वर्षको सो वयस्क भाले गैँडा चार सय २६ सेन्टिमिटर लामो छ । सो गैँडामा ५८९४ नम्बरको कलर आइडी लगाइएको कँडेलले बताए ।
डार्ट गरेर ढलेपछि गैँडालाई काठबाट पिर्का झैँ बनाइएको ठूलो स्ल्याबमा राखेर डोजरले ट्रकमा राखेको थियो । त्यसअघि निकुञ्जको सुखिभार क्षेत्रमा निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्टराई र क्षेत्रीय वन निर्देशक गणेश झाले डार्ट गर्न प्राविधिक टोलीलाई हस्तान्तरण गरी गैँडा खोज्ने काम सुरु गरिएको थियो । आजै बिहान सुखिभारमा वनदेवीको पूजासमेत गरिएको थियो । सो अवसरमा विभागका उपमहानिर्देशक भट्टराई र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले टोलीलाई आवश्यक निर्देशन दिएका थिए ।
दुई दिनअघि सुखिभारमा शिविर खडा गरी गैँडाको बासस्थानको अध्ययन गरिएको थियो । गैँडा नियन्त्रणमा लिने कार्यका लागि ३० वटा हात्ती, ३० जना माउते, ३० जना पछुवा र निकुञ्जका १० कर्मचारी दुई दिनदेखि खटिएका थिए । प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार यस अतिरिक्त नेपाली सेना, दातृ संस्थाहरु, प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जुलोजिकल सोसाइटीलगायतका प्रतिनिधि गरी करिब एक सयजना आज परिचालन भएका छन् ।
गैँडा पठाउन तीनवटा खोर तयारी अवस्थामा राखिएको छ । यसअघि सन् २००० मा चार वटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा लगिएको थियो । चितवनबाट लगिएपछि शुक्लाफाँटामा गैँडाको सङ्ख्या १४ पुग्नेछ । शुक्लाफाँटामा गैँडाका लागि चाहिने बासस्थान राम्रो रहेकाले स्थानान्तरण गर्न लागिएको निकुञ्जले जनाएको छ ।
सरकारले शुक्लाफाँटामा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा २५ गरी ३० वटा गैँडा चितवनबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो । यही निर्णयअनुरुप गतवर्षको फागुन १८ गते चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच वटा गैँडा लगिएको थियो । रासस
गैँडा स्थानान्तरण
चितवन राष्ट्रिय निकुञ्ज
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज