समाज

च्याउ खाँदा नुवाकोटमा एकै परिवारका ६ जना बिरामी

च्याउ खाँदा नुवाकोटमा एकै परिवारका ६ जना बिरामी
चैत २४ । नुवाकोट जिल्लाको लिखु गाँउपालिका–४ चौघडाको रानीटारमा बुधबार साँझ विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी भएका छन् । बिरामीमध्ये चारजना सिकिस्त छन् । विषाक्त च्याउ खाएर रानीटारका ६४ वर्षका पद्मबहादुर राई, उनकी श्रीमती ६४ वर्षीया जुनकिरी राई, छोरा २३ वर्षका रोकेश राई, बुहारी २१ वर्षीया ढोमा राई र नातिहरु चार वर्षका रोहन राई र एक वर्षका रोजन राई बिरामी भएका छन् । च्याउ खाएपछि सिकिस्त भएका रोकेश, उनकी श्रीमती ढोमा र छोराहरु रोहन र रोजनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचार भइरहेको छ । विषालु च्याउ खाएर बिरामी भएका घरमुली पद्मबहादुर र जुनकिरीको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए । राई परिवारले बुधबार बेलुकाको खानामा आफ्नै अस्थायी आवासको खम्बामा उम्रिएको च्याउ खाएलगत्तै बान्ता हुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने समस्या देखिएपछि स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि मध्यरातमा अस्पताल लगिएको हो ।

chayu

विशेष