आइपिएलको दशौं संस्करण सुरु, उद्घाटन खेलमा हैदरावाद ३५ रनले विजयी
चैत्र–२३ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दशौं संस्करण बुधबारदेखि सुरु भएको छ । सन् २००८ देखि सुरु भएको आइपिएलको २०१७ को प्रतियोगिता दशौं संस्करण हो । प्रतियोगिताको उद्घाटन खेलमा बुधबार राति सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोरबीच खेल भएको थियो । घरेलु मैदानमा भएको खेलमा गएको वर्षको उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले पराजित गरको हो । हैदरावादले प्रस्तुत गरेको दुई सय ८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ७२ रनमात्र बनाउन सफल भयो । विराट कोहली बिना मैदानमा उत्रेको बैंग्लोरको लागि क्रिस गेलले ३२, केदार जाधवले ३१ तथा ट्रेविस हेडले ३० रन बनाए । हैदरावादको लागि आशिष नेहरा, भुवनेश्वर कुमार र रशिद खानले समान दुई–दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले चार विकेटको क्षतिमा दुई सय ७ रन बनाएको थियो । टोलीको लागि युवराज सिंहले ६२, मोइसिस हेनरिकले ५२ तथा शिखर धवनले ४० रन बनाए । सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर, दिल्ली डियरडेभिल्स, किंग्स इलाभेन पञ्जाब, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, राइजिङ पुणे सुपरजाइन्टस र गुजरात लायन्स गरी ८ टिमको सहभागिता रहेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट रोयल च्यालेन्जर्स बैंग्लोर सनराइजर्स हैदरावाद