समाज

म्यादीमा जागिर खान खोज्दा हिरासतमा

म्यादीमा जागिर खान खोज्दा हिरासतमा

चैत्र २५ । रौतहटका एक दलित युवक म्यादी प्रहरीमा जागिर खान किर्ते गरी नागरिकता बनाएको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । गुजरा गाउँपालिका १ का २० वर्षीय महेश माझी मुसहर किर्ते गरी नागरिकता बनाएको आरोपमा प्रहरी हिरासतमा पुगेका हुन् ।चैत १६ गते इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट लिएको नागरिकता नक्कली भएको भन्दै महेशलाई चैत १७ गते प्रहरीले पक्राउ गरेको हो ।

गरिब परिवारका कक्षा ११ मा पढ्दै गरेका महेशलाई पढाइ अगाडि बढाउन र वृद्ध आमाको पालनपोषण गर्न पैसाको अभाव थियो ।स्थानीय तह चुनावका लागि म्यादी प्रहरी छनोट गर्न भर्ना खुलेपछि उनलाई पनि जागिर खाने इच्छा लाग्यो र नागरिकता बनाउन गएका थिए । इलाका प्रशासन कार्यालयकी निमित्त प्रमुख सञ्जु सुनारको किर्ते दस्तखत र कार्यालयको छाप लगाएर किर्ते नागरिकता बनाएको आरोप उनीमाथि लागेको छ ।

जन्मको आधारमा नागरिकता बनाएका महेशका बाबु मरु माझी मुसहरको नागरिकतासमेत उनी आफैंले बनाएर नागरिकता लिन निवेदन दिएको आरोप पनि उनीमाथि छ । म्यादी प्रहरीमा जागिर खान उनले नागरिकता बनाउन इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा दुई साताअघि निवेदन दिएका थिए । महेश आफैंले नागरिकतामा कार्यालय प्रमुखको दस्तखत र कार्यालयको छाप लगाएको प्रहरीको भनाइ छ । तर, प्रहरी हिरासतमा रहेका महेशले भने कार्यालयले नै सहीछाप गरेर आफूलाई नागरिकता दिएको बताएको उनका मामा रामकिसन माझी मुसहरले बताएका छन् ।

नागरिकता, कार्यालयको ढड्डालगायत फाइलमा रहेका कागजातमा रातो कलमले रुजु गरी दस्तखत, छाप, होलोग्राम लगाएकाले कार्यालय कै कमजोरी लुकाउन पक्राउ गरिएको उनका आफन्तको आरोप छ । इलाका प्रशासन कार्यालयकी प्रमुख सुनारले यस विषयका कागजात प्रहरीले अनुसन्धान गरिरहेकाले प्रहरी कार्यालयमा बुझ्न आग्रह गरेकी छन् ।

बाबु मरु मुसहरको केही वर्षअघि नै मृत्यु भएको र छोरासमेत प्रहरीले पक्राउ गरेपछि महेशकी वृद्ध आमा विचल्लीमा परेकी छन् । दुई धुर जमिनमा बनाएको झुपडीमा छोरासँगै बस्दै आएकी आमा सुकेशरी देवी म्यादी प्रहरीमा जागिर खान नागरिकता बनाउन गएको छोरोलाई प्रहरीले पक्राउ गरेपछि चिन्तित छिन् ।

पक्राउ परेका महेशले आफूले गल्ती गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी यादव ढकालले बताए । हिरासतमा रहेका उनीमाथि १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको समेत डीएसपी ढकालले बताए ।

२०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि जन्मको आधारमा नागरिकता पाएका बाबुका सन्तानले नागरिकता पाउने प्रावधान खारेज भएको थियो । यस विषयमा नयाँ ऐन नबन्दा रौतहटमा जन्मका आधारमा नागरिकता लिएका बाबुका धेरै सन्तान नागरिकता पाउनबाट वञ्चित हुँदै आएका छन् ।

गाउँमा नागरिकता टोली आउँदा अधिकांश मुसहरहरूको बाबुबाजेको नागरिकता नभएका कारण जन्मको आधारमा नागरिकता बनाइदिएकाले सयौं वर्षदेखि तराई मधेसमा बस्दै आएका आदिवासी मुसहरका छोराछोरीले नागरिकता पाउन नसकेको नेपाल राष्ट्रिय मुसहर उत्थान समाजका केन्द्रीय उपाध्यक्ष नथुनी माझी मुसहरले बताए ।

अन्नपूर्ण

Hirasad

विशेष