स्वास्थ्य

तपाईको स्तनमा गिर्खा त छैनन्, सावधान स्तन क्यान्सर होला

तपाईको स्तनमा गिर्खा त छैनन्, सावधान स्तन क्यान्सर होला

चैत्र २५ । नेपालमा स्तन क्यान्सरका रोगी बढ्दै छन् । लाज, डर र अज्ञानका कारण यो रोग लुकाउने महिला पनि थुप्रै छन् । नियमित चेकजाँचमा सजिलै पत्ता लाग्न सक्ने स्तन क्यान्सरको सम्पूर्ण उपचार नेपालमै हुन्छ र उपचार महँगो पनि छैन ।

क्यान्सर भएपछि निको हुँदैन भन्ने भय र भ्रमले रोगीको मनोबल गिरेको हुन्छ । तर, उपचारमा संलग्न चिकित्सकहरू भन्छन, ‘स्तन क्यान्सर निको पनि हुन्छ र उपचार पनि महँगो छैन ।’

पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पाएको उपचार खर्चका कारण स्तन क्यान्सरको चर्चा अहिले देशभर छ । स्तन क्यान्सर भएका कारण सरकारले सुजाता कोइरलालाई विदेशमा गएर उपचार गराउन ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गयो । यो सहयोगको आलोचनासँगै नेपालमा स्तन क्यान्सरको समस्या कुन हदसम्म छ भन्ने चासो पनि बढेको छ ।

चितवनको भरतपुरस्थित बीपी कोइरला मेमोरियल क्यान्सर अस्पताल क्यान्सरको उपचार हुने देशको मुख्य अस्पताल हो । यो अस्पतालमा उपचारका साथै क्यान्सरका सम्बन्धमा अनुसन्धान र रोकथामका कार्यक्रम पनि हुन्छन् । अस्पतालभित्रै क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग रहेको छ । सो विभागले देशका मुख्य १२ वटा अस्पतालमा रहेका क्यान्सरका बिरामीको समेत विवरण राख्ने गरेको छ । भरतपुरको अस्पतालको मात्रै नभएर अरू अस्पतालको अवस्था हेर्दा पनि स्तन क्यान्सर हुने बिरामीको संख्या वर्षेनि बढिरहेको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख किशोरकुमार प्रधानांगले जानकारी दिए ।

उनका अनुसार सन् २०१२ सम्मको विश्वव्यापी तथ्यांकलाई आधार मान्ने हो भने विभिन्न खालका क्यान्सर रोगमध्ये स्तन क्यान्सर हुने बिरामीको संख्या संसारमै दोस्रो नम्बरमा रहेको छ । उनका अनुसार विश्वमा पहिलो नम्बरमा फोक्सोका क्यान्सर हुने रोगीहरूको संख्या छ । उनीहरूको संख्या १८ लाखको हाराहारीमा छ र कुल क्यान्सर रोगीमध्ये १३ प्रतिशत रहेका छन् । स्तन क्यान्सर हुने रोगीहरूको संख्या १६ लाख छ ।

कुल क्यान्सर रोगीमध्ये स्तन क्यान्सर भएकाहरू झण्डै १० प्रतिशत रहेको प्रधानांगले बताए । नेपालमा स्तन क्यान्सर हुने बिरामीको संख्या तेस्रो नम्बरमा छ । विश्वमा जस्तै नेपालमा पनि फोक्सोमा क्यान्सर हुनेहरू पहिलो नम्बरमै छन् । दोस्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर हुनेहरूको संख्या छ ।

Breast Cancer

विशेष