विद्युतीय जोखिम बढ्यो, पाँच वर्षमा ४७ को मृत्यु
चैत्र–२६ । नेपाल विद्युत् प्राधिकरणको काठमाडौँ क्षेत्रीय कार्यालयअन्तर्गतका इकाइमा सबैभन्दा बढी विद्युतीय दुर्घटनामा हुने गरेको पाइएको छ ।
नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सुरक्षा दिवसका अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा दिइएको जानकारी अनुसार २०६८ असारदेखि २०७३ चैतसम्म ४७ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा पोखरामा नौ जना, बुटवलमा १४, विराटनगरमा १०, जनकपुरमा १९ र अत्तरियामा आठ जनाको निधन भएको छ । दुर्घटनाबाट काठमाडौँमा ६९, पोखरा १७, बुटवल १५, विराटनगर १४, जनकपुर ११, नेपालगन्ज सात, अत्तरियामा १६ जना घाइते भएका छन् ।
दुर्घटनामा परी पशु चौपाया पनि १०० भन्दा बढी मरेका छन् । हेटौँडा क्षेत्रीय कार्यालयको भने त्यसमा विवरण समावेश गरिएको छैन । प्राधिकरणले क्षतिपूर्ति मात्रै रु आठ करोड १७ लाख २१ हजार १९७ उपलब्ध गराएको छ। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक दीर्घायुकुमार श्रेष्ठले विद्युत् उपलब्धता बढेसँगै विद्युतीय दुर्घटना बढेको जानकारी दिए ।
घरघरमा हाई भोल्टेज पुगी बत्तीको स्वीच छुने व्यक्ति दुर्घटनामा परी मानवीय क्षति भएको, गुडिरहेको यात्रुबाहक बसमा ११ केभीको तार छुन पुगी बसमा सवार यात्रुलाई करेन्ट लागेको, एलटी लाइन मर्मत गर्न ट्रान्सफर्मरको ११ केभी लाइन काटी एलटी पोलमा चढी काम गर्दा प्राविधिकलाई करेन्ट लागी ढलान गरेको जमिनमा खसेको र उपचारका क्रममा निधन भएका छन् ।
पनौती जलविद्युत् गृहबाट निस्किएको ११ केभीको फिडरमा रहेको सामान्य प्राविधिक समस्याका कारण दुई प्राविधिक र नजिकैको कुलामा लुगा धोइरहेकी एक महिलाको घटनास्थलमा नै निधन मृत्यु भएको थियो । यी त प्रतिनिधि घटना भए तर पछिल्लो समयमा बढेको विद्युतीय जोखिम कम गर्न भएका प्रयास र पहल भने दुर्घटनाको तुलनामा कम भएको गुनासो पनि आउने गरेको छ ।
प्राधिकरणका अनुसार तोकिएको मापदण्ड विपरीत विद्युत् लाइन विस्तार एवम् निर्माण भएका कारण विद्युतीय दुर्घटना बढेको पाइएको छ । त्यसमा ११ केभी हाइटेन्सन लाइनमा काठका पोल प्रयोग हुनु, धेरै लामो लाइन हुनु, लामो दूरीमा रहेका पोल, अपर्याप्त सवस्टेसन, विद्युत् लाइन भएका स्थान प्रष्ट नदेखिनु र सुरक्षात्मक उपाय अवलम्बन नगरिनु पनि अर्को कारणका रुपमा देखिएको छ ।
यस्तै घर तथा आवास नजिकै प्रसारण लाइन रहनु, मानवीय हेलचेक्र्याँइ हुनु तथा जनचेतनाको अभाव पनि विद्युतीय दुर्घटनाको खास कारणका रुपमा रहेका छन्। दुर्घटना रोक्नका लागि जनशक्तिको व्यवस्थापन, वितरण प्रणाली सुदृढीकरण, गुणस्तरीय प्रसारण लाइन सामग्रीको प्रयोग, जनचेतना फैलाउनुपर्ने र सुरक्षात्मक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ ।
जीर्ण भएका पोल बदल्नुपर्छ भने, उचित रुपमा कन्डक्टरको प्रयोग गर्नु आवश्यक पर्दछ। धेरै लामो फिडर रहेका ठाउँमा सवस्टेसन र स्वीचिङ स्टेसन थप गर्ने, नियमित अनुगमन गरी वितरण प्रणालीमा जडान हुने अन्य निकायका तार र केवल सुरक्षापूर्वक व्यवस्थापन गर्नु आवश्यक छ ।
विद्युतीय सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले विद्युतीय सुरक्षा अपनाउन नसक्दा बर्सेनि विद्युतीय दुर्घटना बढ्दै गएको बताए । कतिपय दुर्घटना कर्मचारी तथा उपभोक्ताकै लापर्बाहीले हुने गरेकाले मृतक र घाइतेलाई क्षतिपूर्ति दिएर मात्रै समस्या समाधान नहुने उनको भनाइ थियो ।
'विद्युतीय दुर्घटनाबाट कर्मचारीको मृत्यु हुनु दुःखद् विषय हो'– मन्त्री शर्माले भने 'क्षतिपूर्ति दिनुभन्दा सुरक्षाको प्रविधि भित्र्याएर जोखिम न्यूनीकरण गर्नुपर्छ ।' तालिम दिएर जनचेतना बढाउनुपर्छ । आजैबाट सुरक्षासम्बन्धी नीति बनाएर, कार्यक्रम बनाएर काम सुरु गरिनुपर्छ ।'
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय प्रणाली सुधार गर्न दिनरात खटिने कर्मचारीको सम्मानमा कार्यक्रमको आयोजना गरिएको बताए। विद्युत्भार कटौतीको अन्त्य गर्न सफल भइसकेकाले प्राधिकरणको अबको ध्यान भरपर्दो र सुरक्षित विद्युत् सेवा प्रदान गर्नमा केन्द्रित हुने उनको भनाइ थियो। कार्यक्रममा विद्युतीय सुरक्षाका विभिन्न उपायकाबारेमा कार्यपत्र पेस भएका थिए । रासस
नेपाल विद्युत् प्राधिकरण
विद्युतीय जोखिम
विद्युतीय दुर्घटना