मनोरञ्जन

के गर्देछन् यी पूर्व मिस नेपाल

के गर्देछन् यी पूर्व मिस नेपाल

सन् २०११ कि मिस नेपाल मलिना जोशी यतिबेला एकसाथ तीन वटा चलचित्रमा व्यस्त छिन । चलचित्र ‘रानी’को १० प्रतिशत काम बाँकी छ, ‘संरक्षण’को डबिङ चलिरहेको छ भने ‘लीला’ प्रदर्शनको तयारीमा छ । सन् २०१४ मा चलचित्र ‘ऋतु’बाट डेब्यु गरेकी उनले ‘द विनर’ र ‘झुम्की’मा पनि आफ्नो अभिनय कला देखाइसकेकी छन ।

सानै हुँदा ऐश्वर्या रायले मिस वल्र्डको ताज जित्दा पहिरिएको क्राउन उनलाई खुब मन परेको थियो रे । त्यसपछि बर्सेनि ‘मिस वल्र्ड प्रतियोगिता’ हेर्न थालेकी उनमा बुझ्ने भएपछि ‘म पनि त्यो प्लेटफर्ममा उभिन पाए’ भन्ने लाग्न थालेछ । यही रहरले उनी सन् २०१० को ‘मिस एन्जल’मा सहभागी भइन् र उत्कृष्ट १० मा परिन् पनि । त्यसपछि मिस नेपाल हुने संकल्प बढ्यो ।

रहरका अगाडि परिवारको असन्तुष्टिले रोक्न सकेन । काठमाडौंमा एमबीए गर्दैगर्दा परिवारलाई झुटो बेलोर सुटुक्क मिस नेपालको फर्म भरिन । ‘पत्रपत्रिकामा खबर आएपछि परिवारलाई कलेजले प्रतिनिधि बनाएर पठाएको भनेर झुटो बोलें,’ उनी सम्झिन्छिन । अन्ततः सन् २०११ को मिस नेपालको क्राउन जितेर मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गरिन ।

सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठ पनि चलचित्र क्षेत्रमै छिन । १२ वर्षको उमेरदेखि परिवारसँग बेलायतमा बसेर पढेकी उनले पफर्मिङ आर्टमा ‘ए लेभल’ गरेकी थिइन । ‘युनिभर्सिटी अध्ययन सोही विषयमा पूरा गर्नेे सोच थियो ।

तर, त्यहाँ नेपालीका लागि पफर्मिङ आर्टमा ठाउँ बनाउन गाह्रो हुने देखिएपछि बीएस्सी नर्सिङ पढें,’ उनी भन्छिन, ‘तर, मनमा ‘पफर्मिङ आर्ट’ को रहर बढ्दै थियो । र, नेपालमै केही गर्नुपर्छ भन्ने सोच हुर्कंदै थियो ।’ गर्मीको विदामा आएर स्वयंसेवीको रूपमा काम गर्दैगर्दा उनलाई ‘मिस नेपाल’ आफ्नो रहर पूरा गर्ने मञ्च हुनसक्छ भन्ने सोच पलायो । नभन्दै उनले त्यो मञ्चलाई जितिछाडिन् र मिस नेपाल भइन ।

उनी अहिले रुचिअनुसार सिने क्षेत्रमा छिन । उनले अभिनय गरेको चलचित्र ‘गाजलु’ प्रदर्शन भइसकेको छ । भन्छिन, ‘यो सधैँ बाँचिरहने क्षेत्र हो । अब रंगकर्ममै रमाउँछु ।’ थिएटर भिलेजमा ‘ह्याम्लेट’ नाटकमा अभिनय गरिसकेकी उनमा मिस नेपाल भएपछि नै आत्मविश्वास बढेको बताउँछिन ।

१६ वर्षकै उमेरमा मिस नेपाल बनेकी झरना बज्राचार्य स्थापित नायिका हुन् । केही समय अघिसम्म उनी मोडलिङ र अभिनय गर्नमा व्यस्त थिइन् । सन् १९९७ मा मिस नेपालको ताज जितेकी उनले झण्डै दुई दर्जन चलचित्रमा अभिनय गरिसकेकी छन । मिस वल्र्ड प्रतियोगितामा सहभागी हुने पहिलो मिस नेपाल उनले हिन्दी चलचित्र ‘लभ इन नेपाल’मा पनि अभिनय गरिन् । केही वर्षअघि मलेसियाली नागरिकसँग विवाह गरेकी उनी अहिले सिने क्षेत्रमा सक्रिय छैनन ।

पूर्वमिस नेपाल माल्भिका सुब्बाले दुई चलचित्र ‘गुड बाई काठमाडौं’, ‘गड लिभ्स इन हिमालयाज’मा अभिनय गरिन । उनले ‘हाउ फन्नी’ चलचित्र पनि बनाइन् । भन्छिन्, ‘नयाँलाई प्रोत्साहित गर्नेमा मलाई बढी नै रूचि छ । त्यसकारण अब आफूचाहिँ खेल्दिनँ तर निर्माणमा जुटिरहन्छु ।’

पहिलो मिस नेपाल रुवी राणा ललितपुरमा ब्युटीपार्लर व्यवसायमा व्यस्त छिन । सन् १९९६ मा मिस नेपाल बन्दा ¥याम्प नापेकी पुनम घिमिरे उद्यमी भएकी छन । मिस नेपाल बनेलगत्तै अध्ययनका लागि अमेरिका पुगेकी उनी १५ वर्षपछि नेपाल फर्किन । हाल उनी अम्बरकार सफ्टवेयर प्रालिको सञ्चालन व्यवस्थापक हुन । भन्छिन, ‘समाजसँग जोडिएर काम गर्न पाउने ग्ल्यामरस प्लेटफर्म भएको हुँदा म मिस नेपालमा सहभागी भएँ ।

सन् २००९ मा मिस नेपाल बनेकी जेनिशा मोक्तान अहिले कर्पोरेट जिम्मेवारीमा छिन । उनी इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स् (आईएमएस) ग्रुपको मानव संशाधन विभाग प्रमुख हुन । कम्पनीमा उनकै पहलमा मानव संशाधन विभाग स्थापना भएको हो । उनको विवाह पनि व्यवसायी दिकेश मल्होत्रासँग भयो ।

सन् २०१५ मा मिस नेपाल बनेकी इभाना मानन्धर आफ्नै पौरखले उद्यमी बन्न चाहन्छिन । काठमाडौंको रैथाने व्यापारी परिवारकी उनी अहिले सीई कन्स्ट्रक्सन प्रालिमा बाबु गोपाललाई व्यवसायको बजार प्रवद्र्धनमा सघाइरहेकी छन । तर, उनका बाबु उनले आफ्नै बुतामा उद्यमी बनेको हेर्न चाहन्छन । उनी इन्धन प्रयोग गर्नु नपर्ने खालको वातावरणमैत्री सवारी साधन सञ्चालन गर्ने तयारीमा छिन । अमेरिकाबाट ‘मार्केटिङ इन्टरप्रेनरसिप’मा स्नातक गरेकी छन ।

सन् १९९९ की मिस नेपाल श्वेता सिंहले लखनऊ विश्वविद्यालय, भारतबाट मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन । सन् २००९ देखि ‘इन्स्टिच्युट अफ प्रोफेसनल डेभलपमेन्ट’ (आईपीडी) नामक संस्था चलाएकी छन । संस्थाले मानव संशाधन व्यवस्थापनसम्बन्धी तालिम दिन्छ । ब्रेनड्रेनले मुलुक ओरोलो लगाएको अनुभूति भएपछि उनलाई लाग्यो, युवालाई ऊभित्रको क्षमता र आफू वरिपरि नै सम्भावना भएको कुरामा विश्वास जगाइदिनु पर्छ । यही सोचले उनी संस्थामार्फत् व्यक्तित्व, सीप र क्षमता अभिवृद्धिसम्बन्धी तालिम र परामर्श दिन्छिन् ।

पूर्वमिस नेपाल प्रीति सिटौला अहिले उनको सहकर्मी बनेकी छन् । अमेरिकाको भर्जि्नियास्थित लिबर्टी युनिभर्सिटीबाट पब्लिक रिलेसन र मार्केटिङ स्नातकोत्तर सिटौला हाल आईपीडीको निर्देशक हुन् ।

सन् २००५ की मिस नेपाल सुगारिका केसी प्रशिक्षक तथा परामर्शदाताका रूपमा परिचित छिन । झण्डै एक दशकदेखि उनी नेपाल ‘एडमिनिस्ट्रेटिभ स्टाफ कलेज’मा नन ग्याजेटेड कर्मचारीहरूलाई व्यक्तित्व विकास, सञ्चार सीपसम्बन्धी तालिम दिँदै आएकी छन ।

सामान्य कुराकानीमा पनि उत्साहित शैलीमा प्रस्तुत हुने इभाना मानन्धर ‘मोटिभेसनल स्पिकर’ हुन । उनी विभिन्न स्कुल कलेजमा व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि हुने खालका भाषण दिन्छिन । रोटरी, लायन्स क्लबमा पनि यस्ता तालिम दिन्छिन । आफ्नै बाबुको कम्पनी सीई कन्स्ट्रक्सनमा प्रोफेसनल डेभलपमेन्ट, मोटिभेसनल परामर्श तथा मार्के्टिङ तालिम दिन्छिन् ।

Miss Nepal

विशेष