विनोद खन्नाको ‘मृत्यु’को खबरले भारतभर तनाव !
चैत– २८ । वलिउडका चर्चित अभिनेता विनोद खन्नाको मृत्युको झुठो खबरले भारतका विशिष्ठ व्यक्तिहरुलाई समेत तनाव भएको छ । अस्पतालमा उपचाररत खन्नाको एक तस्बिर सार्वजनिक भएपछि उनलाई क्यान्सर भएको अनुमानसहितका समाचारहरु भारतमा भाइरल भए । त्यसलगत्तै केहीले उनको निधनसमेत भइसकेको दाबी गरेर समाचारहरु पोस्ट गरेका थिए ।
केही विजेपीका नेताहरुले त खन्नाको मृत्यु भएको सत्य ठानेर श्रद्धाञ्जली पनि दिएका थिए । मेघालयमा त मौन धारण नै गरियो । मेघालयको राजधानी शिलोंगमा ‘स्वच्छ भारत अभियान’ को एक कार्यक्रमबिच विनोद खन्नाका लागि दुई मिनेट मौनधारण गर्न भ्याए । जब राज्यका पार्टी महासचिव डेविड खरसातीले विनोद अझै जीवित भएको जानकारी दिए तब आत्तिँदै एक बयान जारी गर्दै माफी मागे ।
बिजेपी महासचिव डेविडले पार्टीका दुई सदस्यलाई टेलिभिजन र सोसल मिडियामा छाएको खबर देखेर उनको निधनबारे गलत जानकारी भएको बताए । उनले भने, ‘यसको पुष्टि नगरीकनै हामीले उनलाई श्रद्धाञ्जली दियौं । यसका लागि माफी माग्छौं,’ उनले भने ।
मुम्बईको एचएन रिलायन्स अस्पताललाई विश्वास गर्ने हो भने विनोद खन्नाको शरिरमा पानीको कमी भएकाले उनलाई अस्पताल भर्ना गरिएको हो । अहिले उनको अवस्था सुधारोन्मुख छ । स्मरण रहोस् सोसल मिडियामा भाइरल तस्बिरमा विनोद खन्नाको अवस्था देखेर उनलाई क्यान्सर लागेको अनुमान गरिँदै छ । यद्यपी, अस्पताल र उनको परिवारले यस्तो प्रकारको कुनै पनि पुष्टि गरेको छैन ।