खेल

युनाइटेड विजयी हुँदै आर्सनललाई पछि पार्न सफल, इब्राहिमोविक र कोस्टाको बराबरी गोल

युनाइटेड विजयी हुँदै आर्सनललाई पछि पार्न सफल, इब्राहिमोविक र कोस्टाको बराबरी गोल

चैत्र–२८ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा युनाइटेडले सन्डरल्याण्डलाई ३–० ले पराजित गरेको हो । १० खेलाडीमा सीमित सन्डरल्याण्डलाई पराजित गर्न युनाइटेडका लागि जाल्टन इब्राहिमोभिक, हेनरिक एमखिर्तियान र मार्कस रासफोर्डले एक–एक गोल गरे । खेलको ३० औं मिनेटमा गोल गर्दै इब्राहिमोभिकले युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा सेबास्टिएन लार्सन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सन्डरल्याण्ड १० खेलाडीमा सीमित भयो । दोस्रो हाफको सुरुमा नै एमखिर्तियानले युनाइटेडको अग्रता दोब्बर पारे । ८९ औं मिनेटमा रासफोर्डले गोल गरेपछि युनाइटेड ३–० ले विजयी भयो । जितसँगै युनाइटेडले आर्सनललाई पछि पार्दै ३० खेलबाट ५७ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आर्सनलको ५४ अंक छ । युनाइटेड चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा चार अंकले पछि छ र एक खेल कम खेलेको छ । पराजित भएको पुछारको सन्डरल्याण्डको लिगका सात खेल बाँकी हुँदा मात्रै २० अंक छ । त्यस्तै इब्राहिमोभिकले लिगमा चेल्सीका स्ट्राइकर डिएगो कोस्टाको गोलसँग बराबरी गरेका छन् । उनले सन्डरल्याण्डविरुद्ध गरेको गोल लिगमा १७ औं गोल थियो । कोस्टाले पनि प्रिमियर लिगको यो सिजनमा १७ गोल गरेका छन् । लिगमा सबैभन्दा बढि गोल इभर्टनका बेल्जियम स्ट्राइकर रोमेलु लुकाकुले गरेका छन् । उनले हालसम्म २३ गोल गरेका छन् ।

इंग्लिस प्रिमियर लिग इब्राहिमोभिक म्यानचेस्टर युनाइटेड सन्डरल्याण्ड

विशेष