समाज

झन्डै दुई वर्षपछि भूकम्पपीडितसँग आवास निर्माण अनुदान सम्झौता सुरु

झन्डै दुई वर्षपछि भूकम्पपीडितसँग आवास निर्माण अनुदान सम्झौता सुरु
चैत्र–२८ । सोलुखुम्बुका भूकम्पपीडितको आवास निर्माणका लागि भूकम्प गएको झन्डै दुई वर्षपछि आइतबारबाट अनुदान सम्झौता प्रक्रिया सुरु भएको छ । दूधकुण्ड नगरपालिकाको केरुङस्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी भूकम्पपीडितको अनुदान सम्झौता शुभारम्भ गरिएको हो । फागुन र चैत महिनामा गरी भूकम्पपीडितको स्थलगत लगत सङ्कलन सम्पन्न गरिएपछि अब अनुदान सम्झौता सुरु गरिएको हो । पहिलो किस्ताबापत ५० हजार रपैयाँ भूकम्पपीडितले प्राप्त गर्दैछन् । पहिलो चरणमा सम्झौता प्रक्रिया सुरु गरिएको जिल्ला समन्वय समितिका संयोजक कृष्णप्रसाद साप्कोटाले जानकारी दिए । तथ्याङ्क विभागमार्फत भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणले सोलुखुम्बुमा गरेको लगत सङ्कलनमा अहिलेसम्म १७ हजार ८९ घर पहिचान भएको छ । खुम्बु क्षेत्रमा लगत सङ्कलन सुरु भएको छैन । पहिचान भइसकेका घरपरिवारलाई आजैबाट अनुदान सम्झौता सुरु भएको छ । जिल्लाका सबै भूकम्पपीडितको सम्झौता गरिसकेपछि मात्रै अनुदानबापतको पहिलो किस्ता ५० हजार रुपैयाँ बैंकमार्फत पीडितको हातमा पुग्ने संयोजक सापकोटाले जानकारी दिए ।

अनुदान सम्झौता आवास निर्माण भूकम्पपीडित सोलुखुम्बु

विशेष