स्वास्थ्य

जापानी नागरिकको आर्थिक सहयोगमा पाल्पाको दुर्गम गाउँमा आँखा शिविर

जापानी नागरिकको आर्थिक सहयोगमा पाल्पाको दुर्गम गाउँमा आँखा शिविर
चैत्र–२८ । जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) को आर्थिक सहयोगमा पाल्पाको दुर्गम र विकट क्षेत्र निस्दी गाउँपालिका–२ सहलकोटमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । शिविरबाट १२५ जना बिरामीले सेवा लिएका छन् । गाउँमै आँखा उपचार गराउनाका साथै औषधि उपचार निःशुल्क पाएपछि यहाँका स्थानीयवासी खुसी भएका छन् । पाल्पाको ग्रामीण भेगमा रहेर लामो समयदेखि जापानी नागरिक ओकेबाजेले सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् । उनले दुर्गम र विकट क्षेत्रका गरिब तथा विपन्न नागरिक कोही पनि आर्थिक अभावमा उपचारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले दुर्गममा आँखा शिविर सञ्चालनका लागि आर्थिक सहयोग गरेको बताए । शिविरमा जनविकास तथा परिचालन केन्द्र सहलकोट पाल्पाको आयोजना, कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरको प्राविधिक सहयोग रहेको थियो । सहयोगदाता ओकेबाजेकाले शिविरमा सहभागी बिरामीलाई निःशुल्क औषधि वितरण गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका १५ जना बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरेका छन् । १२ जना बिरामीमा मोतियाबिन्दु फेला परेको छ । आज कालीगण्डकी आँखा उपचार केन्द्र, रामपुर किसानबारीमा हुने शिविरमा निःशुल्क शल्यक्रिया गरिने प्राविधिक सुन्दर रानाले जानकारी दिए ।  

जापानी नागरिक निःशुल्क आँखा शिविर पाल्पा

विशेष