समाज

थप एक गैँडा नियन्त्रणमा, तीन दशकमा ९८ गैँडा स्थानान्तरण

थप एक गैँडा नियन्त्रणमा, तीन दशकमा ९८ गैँडा स्थानान्तरण
चैत्र–२८ । प्रजाति संरक्षणका लागि शुक्लाफाँटा पठाउन चितवन राष्ट्रिय निकुञ्जले ढाट गरेर आज एउटा पोथी गैँडा नियन्त्रणमा लिएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार बिहान करिब ९ बजेको समयमा गैँडा नियन्त्रणमा लिइएको हो। यसअघि चारवटा गैँडा निकुञ्जले शुक्लाफाँटा पठाइसकेको छ । आज समाएको गैँडा योपटकका लागि अन्तिम भएको उनले जानकारी दिए । यही चैत २१ गतेबाट यहाँ गैँडा स्थानान्तरणको काम सुरु भएकामा आजसम्म छवटा गैँडा नियन्त्रणमा लिइएकामा एउटा भाले गैँडा भने बर्दिया पठाइएको छ । गैँडा समाउन चिकित्सक र प्राविधिक टोलीसहित ३० हात्ती र झन्डै १०० जनाको टोली निकुञ्जको पश्चिम क्षेत्र सुखिभारमा खटाइएको थियो । सन् २००१ मा शुक्लाफाँटामा पहिलोपटक यहाँबाट चारवटा गैँडा पठाइएको थियो । सन् २०१५ को गणनाअनुसार नेपालमा ६४५ गैँडा छन् । त्यसमध्ये ६०५ वटा चितवनमा छ भने आठवटा शुक्लाफाँटामा छन् । बर्दियामा २९ र पर्सामा तीनवटा गैँडा थिए । अहिले भने गैँडाको सङ्ख्या बढेको जनाइएको छ । शुक्लाफाँटा र बर्दियामा ९८ गैँडा स्थानान्तरणः चितवन राष्ट्रिय निकुञ्जले बर्दिया र शुक्लाफाँटामा हालसम्म ९८ वटा दुर्लभ एकसिङ्गे गैँडा स्थानान्तरण गरेको छ । सन् १९८६ देखि सुरु भएको गैँडा स्थानान्तरणमा अहिलेसम्म बर्दियामा मात्रै ८९ वटा गैँडा पठाइसकिएको छ भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौवटा गैँडा स्थानान्तरण भएको चितवन निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार सन् १९८६ देखि २०१५ सम्ममा बर्दियामा ४० भाले र ४८ पोथी गैँडा पठाइएको थियो। अघिल्लो हप्तामात्रै फेरि बर्दियामा एउटा भाले पठाइएको छ। आजसमेत गरेर शुक्लाफाँटामा एक भाले र चार पोथी पठाइएको निकुञ्जले जनाएको छ। त्यही हुर्केका र अहिले स्थानान्तरण गरिएका गरी शुक्लाफाँटामा हाल १४ गैँडा पुगेका छन् भने बर्दियामा ३५ गैँडा पुगेको तथ्याङ्क छ। द्वन्द्वका बेला लगिएका गैँडा अत्यधिक रुपमा तस्करले मारेका थिए। बर्दियामा ८३ वटा गैँडा तस्करले नै मारेको जनाइएको छ।

गैंडा चितवन राष्ट्रिय निकुञ्ज स्थानान्तरण

विशेष