हैजा नियन्त्रण गर्न नयाँ योजना
चैत्र–२८ । सरकारले झाडापखाला एवम् कलेरा (हैजा)को नियन्त्रणसम्बन्धी नयाँ पञ्चवर्षीय तयारी तथा सम्बोधन योजना सुरु गरेको छ ।
नेपाल हैजाको जोखिममा छ । हरेक वर्ष विभिन्न स्थानमा महामारीको रुपमा फैलँदा धेरै मानिसले ज्यान गुमाइरहेकाले यसको नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज पञ्चवर्षीय तयारी तथा सम्बोधन योजना सार्वजनिक गरेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले आगामी दिनमा सरकारी तथा गैह्रसरकारी संस्थाका लागि हैजा नियन्त्रणसम्बन्धी काम गर्न उक्त योजना मुख्य दस्तावेज हुने बताए । उनले भने, ‘‘हैजा नियन्त्रणका लागि गर्न सकिने सुधारका अवसर, चुनौती, वर्तमान कार्यक्रमको सबल र कमजोर पक्षबारे योजनामा गहन विश्लेषण गरिएको छ । यसको मुख्य उद्देश्य भनेको देशभर हैजाका घटनामा कमी ल्याई जनताको स्वास्थ्यमा सुधार ल्याउनु हो ।’’
महाशाखाका उपस्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले योजनाले हैजा फैलन नदिने, हैजाबाट हुने मृत्युका घटना र महामारी नियन्त्रणको लागि सहयोगात्मक र समन्वयात्मक व्यवस्था गर्ने बताए । दूषित पानी र खानाबाट सर्ने हैजा छिटो एकबाट अर्को व्यक्तिमा सर्ने रोग हो । समयमा उपचार नभए ज्यान जानसक्छ ।
वान्ता हुनु, पालतो दिसा हुनु र जीउ शिथिल हुनुजस्ता लक्षण देखिने हैजा ब्याक्टेरियाबाट सर्ने गर्दछ । विश्वमा २८ हजार देखि १ लाख ४२ हजार जना व्यक्तिको हैजाको कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको उल्लेख गरेको छ ।
गत वर्षमात्र काठमाडौँ उपत्यकामा दूषित पानीका कारण १६९ व्यक्तिमा हैजा देखिएको पुष्टि भएको थियो । रासस
नियन्त्रण
योजना
सरकार
हैजा