सफलताको कथा समाज

यस्तो छ नयाँ आइजीपीको बायोडाटा

यस्तो छ नयाँ आइजीपीको बायोडाटा

चैत्र २९ । लामो कसरतपछि सोमबार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा प्रकाश अर्याललाई नियुक्त गरेको छ ।

यसअघि गएको फागुन १ गते सरकारले डिआईजी जयबहादुर चन्दलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतले त्यसलाई खारेज गरिदिएको थियो । सरकारले चन्दलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको भोलिपल्टै अर्का डिआईजी नवराज सिलवालले आफूलाई आइजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथि भएको सर्वोच्चको पूर्ण इजलाशले सरकारको निर्णय खारेज भयो । चन्दविरुद्ध सर्वोच्चमा रिट दायर भएपछि सरकारले प्रहरी नियमावली संशोधन गरी निर्णय बदल्यो र निमित्त महानिरीक्षकको जिम्मेवारी प्राविधकपट्टिको जिम्मेवारीमा खटिएका एआईजी डा. दिनेशचन्द्र पोखरेललाई दियो ।

गृह मन्त्रालयका अनुसार सर्वोच्चको बृहत् पूर्ण इजलासले भने बमोजिम चारवटा आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनको नम्बर जोड्दा नवराज सिलवालभन्दा अर्याल १ दशमलव ३४ नम्बरले अघि देखिएका हुन् ।

यस्तो छ अर्यालको बायोडाटा

प्रकाश अर्यालको जन्म २०२० असार १४ गते दाङको त्रिभुवन नगरपालिका ११ मा भएको हो । उनले स्नाकोत्तरसम्मको अध्ययन गरेका छन् । उनी २०४४ चैत १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनले दैलेख, तेह्रथुम, रुपन्देही, मकवानपुर, कास्की जिल्लामा प्रहरी प्रमुख भएर काम गरेका छन् । उनी अञ्चल प्रहरी कार्यालय रुपन्देही र मध्य क्षेत्रीय प्रहरी कार्यालय प्रमुख पनि भइसकेका छन् ।

एसएसपीबाट डिआइजीमा २०६९ साल पुस ४ गते बढुवा भएका थिए ।। महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख हुँदा उनले मिटर चलाउन नमान्ने, मनपरि भाडा असुल्ने, लेन मिच्ने चालकलाई कारबाही गर्ने अभियान चलाएका थिए । ‘एक महिनाभित्र ट्याक्सी चालकहरू मिटरबिना हिंड्दैनौं भन्नेछन,’ अर्यालको यो भनाइ हो ।

सिआइबीमा रहँदा उनले भिओआइपीविरुद्ध अप्रेसन थाले भने आर्थिक अपराध अनुसन्धानलाई प्राथमिकता दिए ।

अर्यालले अमेरिकामा एफबिआई तालिम, सिनियर प्रहरी कमान्डो, विशेष व्यक्तिको सुरक्षा, मानवअधिकार, अपराध अनुसन्धान, अपराध व्यवस्थापन, प्रति आतंकवाद कमान्डो आदि तालिम लिएका छन्। अर्यालले सेवा अवधिभर अहिलेसम्म दुर्गम सेवा पदक, दैवीप्रकोप उद्धार सेवा, संयुक्त राष्ट्र संघ पदक, गद्धी आरोहण रजत पदक, प्रदेश सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथो र वीरेन्द्र ऐश्वर्या सेवा पदक पनि पाएका छन ।

अर्याललाई सिआइबीमा रहँदा ३५ किलोको सुन काण्ड उनलाई लागेको अहिलेसम्मकै ठुलो आरोप हो।

IGP Aryal

विशेष