ताजा खबर समाज

तपाईहरुको प्रिय महानिरीक्षक बन्छु : अर्याल

तपाईहरुको प्रिय महानिरीक्षक बन्छु : अर्याल

चैत्र २९ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सङ्क्रमणकालको आवरणमा शान्ति–सुव्यवस्थामा खलल पार्ने कुनै गतिविधि क्षम्य नहुने बताएका छन् ।

महानिरीक्षक भएपछि आज प्रहरी मुख्यालयमा मातहतका प्रहरी अधिकारीसमक्ष प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै महानिरीक्षक अर्यालले संविधान बनेसँगै स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन गर्नका लागि आवश्यक अभिभारा पूरा गर्न प्रहरी सङ्गठनले आफ्नो भूमिकामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

सङ्गठनको व्यावसायिकता र प्रभावकारिता बढाउने आफ्नो प्राथमिकता रहेको बताउँदै उनले भने, “म तपाईंहरुको प्रिय महानिरीक्षक बन्ने प्रयास गर्नेछु । जुनसुकै दर्जाका प्रहरी कर्मचारीको गुनासो सुन्न सक्ने गरी अभिभावकीय भूमिका निर्वाह गर्नेछु ।” अवाञ्छित गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याइने दृढता व्यक्त गर्दै अर्यालले त्यसमा कसैको प्रभाव र दबाब स्वीकार नगर्ने प्रतिबद्धता व्यक्त गरे । सहकर्मीलाई साथै लिएर जान्छु  ।

प्रहरी महानिरीक्षक अर्यालले साङ्केतिक रुपमा आफ्नो प्रतिस्पर्धी रहेकाहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गरे । उनले भने, “नेतृत्वमा प्रतिस्पर्धा हुनु प्रकृतिको नियम हो, प्रतिस्पर्धा भइसकेपछि दौडमा एक जना मात्रै पहिलो हुन्छ, प्राकृतिक कुरालाई अरुले स्विकार्न सक्नुपर्छ ।” आफ्ना सहकर्मीलाई साथमा लिँदै गुनासो मत्थर गर्न आफूले सक्दो पहल गर्ने उनको भनाइ छ । उनले भने, “म र मेरो भावनाभन्दा माथि उठी एकताबद्ध भएर अघि बढ्न मेरा सहकर्मी र समकक्षीलाई आग्रह गर्छु ।”

कार्यक्रममा महानिरीक्षक अर्याललाई स्वागत तथा बधाई दिँदै यसअघि निमित्त महानिरीक्षकको जिम्मेवारी सम्हाल्नुभएका डा दिनेशचन्द्र पोखरेलले प्रहरी सङ्गठनमा अनुशासन र ‘चेन अफ कमान्ड’ खुकुलो बन्दै गएको गुनासोलाई नयाँ महानिरीक्षकले विशेष रुपमा लिन आग्रह गरे ।

IGP Aryal

विशेष