देश

खोटाङमा तीन दिनदेखि विद्युत् आपूर्ति ठप्प, स्थानीय आक्रोशित

खोटाङमा तीन दिनदेखि विद्युत् आपूर्ति ठप्प, स्थानीय आक्रोशित
चैत्र - २९ । खोटाङमा तीन दिनदेखि अवरुद्ध विद्युत्को आपूर्ति अझै हुन सकेको छैन। दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको तार चुडिँदा गत आइतबार साँझदेखि विद्युत् अवरुद्ध भएको हो। अवरुद्ध विद्युत् मर्मतका लागि प्राविधिक टोली खटाइसकिएको नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय दिक्तेलले जनाएको छ। आइतबार राति चलेको हावाहुरीले रसुवा आसपासमा तार चुँडाएको अनुमान गरिएको प्राधिकरणले जनाएको छ। विद्युत् अवरुद्ध हुँदा खोटाङका साथै छिमेकी जिल्ला ओखलढुङ्गाको जनजीवनसमेत प्रभावित भएको छ । विद्युत् अवरुद्ध भएपछि सरकारी तथा गैरसरकारी कार्यालयका काम, वित्तीय कारोबार, व्यापार/व्यवसाय सञ्चालनमा समस्या हुनुका साथै जिल्लामा सञ्चालित विद्युतीय तथा छापा सञ्चारमाध्यमको प्रकाशन र प्रसारणमा समेत असर पुगेको छ । जिल्लामा पटकपटक लामो समयसम्म विद्युत् अवरुद्ध गराइएको भन्दै स्थानीय उपभोक्ता आक्रोशित भएका छन् । उनीहरुले प्राधिकरणका कर्मचारीको लापर्बाहीले विद्युत् अवरुद्ध भएको आरोप लगाएका छन् ।

विद्युत् आपूर्ति ठप्प

विशेष