खेल

डिपिएलः रुपन्देहीको लगातार दोस्रो जित

डिपिएलः रुपन्देहीको लगातार दोस्रो जित
चैत्र–३० । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत बुधबार भएको खेलमा रुपन्देहीले सिवाइसी अत्तरियालाई ४२ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय २९ रन बनाएको थियो । रुपन्देहीको लागि राजेश मगरले ३१ रन, प्रकाश केशीले नटआउट २९ तथा पुष्प थापाले २१ रन बनाए । सिवाइसीका लागि भने प्रदिप ऐरी र विनोद लामाले समान दुई–दुई विकेट लिए । जवाफि ब्याटिङमा उत्रेको अत्तरियाले दुई बल बाँकी रहँदा सबै विकेट गुमाएर ८७ रन मात्र बनाउन सफल भए । उसका लागि कप्तान ज्ञानेन्द्र मल्ले ३० तथा विनोद लामाले १८ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । रुपन्देहीका शाहब आलमले चार तथा बिक्रम सोबले दुई विकेट लिए । लगातार दुई खेल जितेको शक्ति गौचन कप्तान रहेको रुपन्देही चार अंकसहित शीर्ष स्थानमा छ । दुई अंकसहित सिवाइसी तेस्रो स्थानमा छ ।

जित धनगढी प्रिमियर लिग (डिपिएल) रुपन्देही

विशेष