समाज

नयाँ वर्ष २०७४ आजबाट प्रारम्भ

नयाँ वर्ष २०७४ आजबाट प्रारम्भ
बैशाख १ । नयाँ वर्ष २०७४ आज शुक्रबारबाट सुरु भएको छ । विक्रम संवत् अनुसार आजैदेखि वर्ष २०७३ लाई बिदा गरी वर्ष २०७४ को शुभारम्भ भएको हो । यो वर्ष देशको संक्रमणकालिन राजनीतिक जटिलताको अन्त्य भई मुलुकमा संविधान कार्यान्वयन हुने अपेक्षा आम रुपमा गरिएको छ । मूलतः यो वर्ष मुलुकमा तीन वटा निर्वाचन सम्पन्न गर्नुपर्ने कार्यभार रहेको छ । स्थानीय, प्रदेश र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचन गरी नयाँ संविधान लागू गर्नुपर्ने दायित्व सरकार र दलहरुको काँधमा रहेको छ । योसँगै मुलुकमा राजनीतिक स्थिरता र विकासको बाटो खुल्ने अपेक्षा आम नागरिकको रहेको छ । माघ ७ भित्र तीन÷तीन वटा निर्वाचन सम्पन्न गर्नु चानचुने चुनौतिको विषय पक्कै पनि होइन । यसका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था र आम नागरिकबीचको एकता र समन्वयले महत्वपूर्ण भूमिका खेल्ने छ । विगतका अनगिन्ती मतभेद र द्वन्द्वका श्रृखंलाहरुलाई बिर्संदै दलहरुले २०७४ साललाई मूलतः निर्वाचन केन्द्रित गर्दै संविधान कार्यान्वयन गर्दै २०६२र०६३ सहितका आन्दोलनले स्थापित गरेका उपलब्धिहरुलाई संस्थागत गर्ने अपेक्षा पनि गरिएको छ । नयाँ वर्षकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व राजा ज्ञानेन्द्र शाहलगायतले देश विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् ।

New Year

विशेष