ताजा खबर

आजबाट उपत्यकामा हर्न बजाउन निषेध, प्रहरीले पनि बजाउन नपाउँने

आजबाट उपत्यकामा हर्न बजाउन निषेध, प्रहरीले पनि बजाउन नपाउँने

बैशाख १ । उपत्यकामा आजदेखि ‘हर्न निषेधित क्षेत्र’ नियम लागू भएको छ ।

उपत्यकालाई हर्न निषेधित क्षेत्र बनाउने स्थानीय प्रशासनको निर्णयअनुसार यस्तो नियम लागू गरिएकोे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका डिआइजी मिङमार लामाले १ वैशाखदेखि नै उपत्यकामा हर्न निषेध नियम लागू गरिएको जानकारी दिए । त्यसका लागि आवश्यक सबै तयारी पूरा भइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

दुईवटा अवस्थामा मात्र हर्न बजाउन पाइने

यो नियम लागू भएपछि दुईवटा अवस्थामा मात्र हर्न बजाउन पाइन्छ ।

एउटा घुमाउरो बाटो र अर्को दुर्घटना हुने जोखिम अवस्थामा मात्रै सवारीचालकलाई हर्न बजाउने नियममा छुट दिइएको छ । यसबाहेक हर्न बजाए प्रहरीले कारबाही गर्ने व्यवस्था छ ।

हर्न बजाएमा पहिलोचोटिका लागि पाँच सय, त्यसपछि क्रमशः एक हजार, १ हजार ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ ।

प्रहरीलाई पनि निषेध

सडकमा गुड्ने सम्पूर्ण सवारीसाधनका लागि यो नियम लागू गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

निजी, सार्वजनिक मात्र नभएर सरकारी र प्रहरी गाडीमा पनि यो नियम लागू हुनेछ ।कुनै पनि सवारीचालकले यो नियम उल्लंघन गरे तोकिएको जरिवानाअनुसार कारबाही गरिने डिआइजी लामाले बताए ।

नयाँ पत्रिका

विशेष