मनोरञ्जन

नयाँवर्षको पहिलो दिन नै दयाहाङ, प्रियंका भिड्दै

नयाँवर्षको पहिलो दिन नै दयाहाङ, प्रियंका भिड्दै

वैशाख १ । नया वर्षको सुरुवातसँगै आजदेखि देशभर तीन नेपाली फिल्म ‘लभ लभ लभ’, ‘घामपानी’ र ‘राधे’ रिलिज भएका छन् ।

दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘लभ लभ लभ’ बालसखादेखि प्रेमी हुँदासम्मको घटनाक्रमलाई दर्शाइएको छ । स्वस्तिमा खडका र सुरज पाण्डेको मुख्य भूमिका रहेको फिल्ममा हेर्दा आकर्षक नलाग्ने र एउटा कान कम सुन्ने सुरज केटी साथीको प्रेम पाउनका लागि अनेक उपाय गर्छ । प्रेम प्राप्ति र त्यागबीच रहेर निर्देशक खनालले कथा भन्ने प्रयास गरेका छन् । शर्मिला पाण्डेको निर्माण रहेको फिल्मबाट उनकै छोरा सुरजले डेब्यु गर्दैछन् भने यसअघि ‘होस्टेल रिटन्र्स’ मा सहायक भूमिकामा देखिएकी स्वस्तिमा पनि ‘लभ लभ लभ’ बाट नायिकाका रूपमा आएकी छन् । अधिकांश छायांकन पोखरा र स्याङजाको पन्चासेमा खिचिएको फिल्मका सिनेमाटोग्राफर निरज कँडेल हुन् । बुधबार गरिएको प्रेम शोपछि फिल्मले सुखद् समीक्षा बटुल्न सफल देखिएको छ ।

कला पत्रकारितामा लामो समयको अनुभव संगालेका दिपेन्द्र लामा फिल्म ‘घामपानी’ मार्फत निर्देशनमा पनि हात हालेका छन् । यसअघि उनी ‘नागबेली’ बाट पटकथा लेखकका रूपमा पनि आफूलाई प्रयोग गरिसकेका हुन् । दयाहाङ राई र केकी अधिकारीको जोडी लिएर बनाइएको ‘घामपानी’ तामाङ युवकले ब्राम्हण युवतीसँगको प्रेम र भगाएपछिको अवस्थामा आधारित छ । सबै जातको अस्तित्व स्वीकार्नुपर्ने र सम्मान गर्नुपर्ने पेटबोली रहेको फिल्ममा अंकित खडा, प्रकाश घिमिरे, पुष्कर गुरुङलगायतको अभिनय रहेको छ । फिल्मको रिलिजको पूर्वसन्ध्यामा बिहिबार प्रेस शो गरिएको थियो । उपस्थित संचारकर्मी तथा पत्रकारले फिल्मप्रति सकारात्मक टिप्पणी गरेका छन् ।

जगदीश्वर थापाको निर्देशन रहेको फिल्म ‘राधे’ मा मुख्य नायक निखिल उप्रेती र प्रीयंका कार्कीबीचको लभस्टोरी व्यक्त गरेको छ । बेपत्ता नागरिकको वेदनालाई मुख्य विषयबस्तु बनाइएको भनिएको फिल्ममा निखिल अभिनित पात्र नै बेपत्ता पर्छन् । एक्सन र स्टन्टमा बढी चलेका निखिलले ‘राधे’ मा त्यसलाई कम गर्दै भावनात्मक कथामा आफूलाई प्रमाणित गर्ने कोसिस गरेको बताइएको छ । अशिष्मा नकर्मी र शिशिर भण्डारीसमेतको अहं भूमिका रहेको फिल्मलाई कृष्ण श्रेष्ठले खिचेका हुन् । सुशील पोखरेलको निर्माण रहेको फिल्मलाई गौतमराज खड्काले सम्पादन गरेका हुन् । ‘राधे’ को रिलिज सिंगलस्क्रिन हलमा हाबी देखिएको छ भने मल्टिप्लेक्समा ‘लभ लभ लभ’ र ‘घामपानी’ ले शोज बाँडेका छन् ।

Daya hang Rai

विशेष