प्रियंका र आयुष्मानले स्वीकारे सम्बन्ध
१– वैशाख । नायिका प्रियंका कार्कीले नयाँ फिल्म नायक आयुष्मान देशराजसँग आफू प्रेममा रहेको बताएकी छन् । साप्ताहिकमा उनले आफ्नो अफेयर खुलासा गर्दै भनेकी छन्–
‘हामी आज, अहिलेको यो क्षणमा बाँचिरहेका छौं । एकैछिनमा के हुन्छ ? भोलि के होला ? भनेर हामी सोच्दैनौं । हामी दुबैको बानी त्यस्तै छ । त्यसैले हाम्रो यो सम्बन्धको भविष्य के छ वा हामीले कुन गन्तव्य पहिल्याउँछौं भनेर अहिले नै केही सोचेको वा योजना बनाएका छ्रैनौं । हामी ब्रम्हाण्डको शक्तिमा विश्वास गर्छौं । वास्तवमा ब्रम्हाण्ड छ र नै हामी छौं । भोलि यो सम्बन्धले हामीलाई कस्तो खुसी दिन्छ भनेर कल्पनु भन्दा अहिले प्राप्त खुसी र आनन्दमा रमाउनु उपयुक्त हो ।’
दुवैको भनाइमा उनीहरुको यो गहिरो सम्बन्धबाट अभिभावकहरु पनि खुसी छन् । आयुष्मानले आफ्नी आमा, भाई, बुवा तथा एक साथीलाई यसबारे जानकारी गराइसकेका छन् । प्रियंकाले पनि आफ्ना आमा, दुई सानीमा, भाइ तथा केही साथीलाई यो सम्बन्धको यथार्थ बताइसकेकी छन् । प्रियंका भन्छिन् ‘म सानैदेखि बाबाकी छोरी भएर हुर्किएँ । बाबालाई खुलेर भन्न सकेकी छैन । तर यथार्थ उहाँलाई पनि थाहा छ र मेरो खुसीमा उहाँ खुसी नै हुनुहुन्छ ।’