आइपिएलः तेयीको ह्याट्रिकका साथ गुजरातको पहिलो जित


वैशाख–२ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गुजरात लायन्स राइजिङ पुने सुपरजायन्टविरुद्धको खेलमा ७ विकेटले विजयी भएको छ । १ सय ७२ रनको लक्ष्य पछ्याएको गुजरातले १८ ओभरमा ३ विकेट गुमाउँदै खेल जितेको हो । गुजरातको लागि ब्राण्डम म्याकलमले सर्वाधिक ४९ रन बनाए । त्यस्तै डवेयन स्मिथले ४७, कप्तान सुरेश रैना र आरोन फिन्चले नटआउट क्रमशः ३५ र ३३ रनको योगदान दिए । पुनेको लागि शार्दुल ठाकुर, इमरान ताहिर र राहुल चाहरले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पुनेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । पुनेको लागि स्टेभेन स्मिथले सर्वाधिक ४३ रनको योगदान दिए । त्यस्तै राहुनल त्रिपाठीले ३३, मनोज तिवारीले ३१ तथा अंकित शर्मा र बेन स्टोकले समान २५ रन बनाएका थिए । गुजरातका लागि एन्ड्रयु तेयीले ह्याट्रिकसहित पाँच विकेट लिए । एन्ड्रयुले आइपिएल २०१७ को संस्करणमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि सोही दिननै मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैङ्लोरबीचको खेलमा बैङ्लोरको तर्फबाट खेल्ने सामुअल बद्रीले प्रतियोगिताको पहिलो ह्याट्रिक विकेट लिएका थिए । तीन खेलमा पहिलो जित दर्ता गर्न सफल भएको गुजरात दुई अंकका साथ सातौं स्थानमा छ भने चार खेलबाट दुई अंक जोडेको पुणे पुछारमा छ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट गुजरात लायन्स राइजिङ पुने सुपरजायन्ट