समाज

चुनावी सुरक्षामा महिला म्यादी कोटा पुरा

चुनावी सुरक्षामा महिला म्यादी कोटा पुरा

जाजरकोट, वैशाख–३ । यही वैशाख ३१ गते हुन लागि रहेको स्थानिय तहको निर्वाचन सुरक्षाका लागि जाजरकोटमा महिला म्यादी कोटा पुरा भएको छ । निर्धारीत संख्या भन्दा बढी महिला म्यादी छनौट भएर सुरक्षा कोटा पुर्ती भएको हो । प्रत्येक मतदान केन्द्रमा एक महिला प्रहरी तथा महिला म्यादी प्रहरी हुनु पर्ने प्रावधान रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । ६० मतदान केन्द्र रहेको जाजरकोटमा ८० जना महिला म्यादी छनौछ भएको प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । म्यादी प्रहरी छनौटमा परेका ८० जना महिलाहरु आज भोली बिहान देखि वेलुका सम्म तालिममा ब्यस्त भएका छन् । सामान्य पिटी परेड देखि लिएर लठ्ठी चार्ज सम्मको तालिममा महिला म्यादी प्रहरीहरु सहभागी भईरहेका छन् । आधारभुत तालिमवाट आफुहरुलाई सक्षम बनाउन एक–आपसमा निक्कै कडा प्रतिस्पर्दा गरिरहेका छन् । प्रहरीले दिएको आधारभुत तालिमवाटै आफु निर्वाचन सुरक्षाको लागी सक्षम हुने भेरी नगरपालीका–६ कि सविना खड्काले वताईन् । निर्वाचन सुरक्षाको लागि आफुलाई जिल्लाको कुनै पनि मतदान केन्द्रमा खटाए पनि आफ्नो जिम्मेवारीलाई पुरा गर्ने खड्काले जिक्किर गरिन् ।
संविधानमा भएको ब्यबस्थालाई प्रयोग गर्न महिलाहरु सक्षम भईसकेको छेडागाड नगरपालीका–६ कि दुर्गा पुनले वताईन् । १९ बर्ष पछि हुन लागि रहेको स्थानिय तहको निर्वाचनलाई आम नागरीकहरुले उत्सवका रुपमा लिए जस्तै गरी आफुले उक्त निर्वाचनको सुरक्षा गर्न पाएकोमा निकै खुशी भएको साल्मा–९ कि मिना बुढाले बताईन् । म्यादी प्रहरी भएर झण्डै दुई महिनाको अबधीमा सुरक्षा कर्मीको भुमिका निर्वाह गर्न पाएको खुशी व्यक्त गर्दै स्थानिय तहको निर्वाचन सुरक्षाका लागि आफुले जस्तो सुकै मुल्य पनि चुकाउन तयार रहेको भेरी नगरपालीका–४ कि विजया बिकले बताईन् । जिल्लामा करार नियुक्तिमा ६ सय १२ जना म्यादी प्रहरीलाई छनौट गरि आधारभुत तालिम दिईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी समेत रहेका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । ६ सय १२ जना छनौट भएका म्यादी प्रहरीमा ५ सय ३२ जना पुरुष रहेका छन् भने, ८० जना महिला रहेका छन् निरिक्षक अवस्थीले भने् । ५५ दिनको लागि नियुक्ति गरिएका म्यादी प्रहरीहरुलाई स्थायी प्रहरी जवान बराबरको तलव, रासन, भत्ताको ब्यबस्था राज्यले गर्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । निर्वाचन सुरक्षाका लागि नियुक्त गरिएका म्यादी प्रहरीहरुलाई झण्डै १५ दिनको आधारभुत तालिम दिएर मतदान केन्द्रमा पठाईने प्रहरी निरिक्षक अवस्थीले जानकारी दिए । उनले मतदान केन्द्रको सुरक्षाका लागि आबश्यक पर्ने बिषयहरुमा म्यादी प्रहरी तालिम केन्द्रित रहेको बताए । म्यादी प्रहरीको तालिम यहि बैसाख ८ गते सम्म सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । -दीपबहादुर घर्ती

चुनाव जाजरकोट महिला म्यादी स्थानिय तहको निर्वाचन

विशेष