समाज

विद्यालय बाहिर रहेका ५० प्रतिशत बालबालिकालाई यस वर्ष भर्ना गरिने

विद्यालय बाहिर रहेका ५० प्रतिशत बालबालिकालाई यस वर्ष भर्ना गरिने
वैशाख–४ । गत वर्ष डडेल्धुरामा ८१६ बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क जिल्ला शिक्षा कार्यालयले सार्वजनिक गरेसँगै यस वर्ष ३३२ बालबालिलार्ई विद्यालय भर्ना गरिने जिल्ला शिक्षा कार्यालय, डडेल्धुराले जनाएको छ । विभिन्न कारणले विद्यालय बाहिर रहेका बालबालिकालाई ५० प्रतिशत भर्ना अभियानको दौरानमा विद्यालयको पहुँचसम्म ल्याएपछि अब ४८४ बालबालिका मात्रै विद्यालय बाहिर रहने जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत, नरेन्द्र खातीले जानकारी गराए । उनले विद्यालय बाहिर रहेका बाँकी बालबालिकालाई पनि समेट्ने प्रयास भइरहेको जनाए । विसं २०६२ देखि सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियान यस वर्ष पनि सञ्चालन गरिएको छ । ''हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा'' भन्ने नारासहित डडेल्धुरामा पनि यस वर्ष विद्यार्थी भर्ना अभियान सञ्चालन गरिएको हो । विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयसम्म पुर्याई शिक्षित गराउने उद्देश्यले विद्यालय भर्ना अभियान सञ्चालनमा ल्याइएको जिल्ला शिक्षा अधिकारी, बसन्तकुमार खत्रीले बताए । भर्ना अभियानको १२ वर्ष पुग्दा डडेल्धुराका १० हजार विद्यार्थी विद्यालय जान थालेको जिल्ला शिक्षा कार्यालय, डडेल्धुराले जनाएको छ । डडेल्धुरामा सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियान तथा विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान कार्यक्रमअनुसार यस वर्ष विद्यालय बाहिर रहेका बालबालिकामध्ये झन्डै ५० प्रतिशत बालबालिकालाई विद्यालय भर्ना गरिने बताइएको छ भने अन्यलाई पनि विद्यालयको पहुँचमा ल्याउने प्रयास गरिने जनाएको छ । घरदैलो अभियानपछि तयार पारिएको प्रतिवेदनअनुसार यस वर्ष ३३२ बालबालिकालाई विद्यालय भर्ना गरिने जिल्ला शिक्षा कार्यालयको दाबी रहेको छ ।

डडेल्धुरा बालबालिका विद्यालय

विशेष