देश

इन्जिनियरको पढाई छाडेर उद्योग सञ्चालन

इन्जिनियरको पढाई छाडेर उद्योग सञ्चालन
दीपबहादुर घर्ती
वैशाख - ४ । जाजरकोट, सिभिल इन्जिनियर पढाईका लागि काठमाडाैँ पुगेका एक युवा जिल्लामा फर्केर रत्न पत्थर उद्योग सञ्चालन गरेका छन् । तमाम बेरोजगार युवाहरुलाई आफूले जिल्लामै रोजगारी दिने उद्देश्य राखेर ती युवाले रन्त पत्थर उद्योग सञ्चालन गरेका हुन् । भेरी नगरपालीका–४ गैरीखालीका सुशिल रावलले सिभिल इन्जिनियरको पढाई छाडेर आफ्नै घरमा रत्न पत्थर उद्योग सञ्चालनमा ल्याएका छन् । ६ महिनासम्म सिभिल इन्जिनियरको कोर्ष अध्ययन गरेका रावलले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा टोनी हेगन रत्न पत्थर उद्योग दर्ता गरेर सञ्चालनमा ल्याएका छन् । कलेजको दैनिक विद्यार्थी राजनीतिदेखि आफूलाई दिक्क लागेर आएपछि घरमा फर्केर उद्योग सञ्चालन गर्ने निर्णयमा पुगेको रावलले बताए । उद्योग दर्ता गरेर सञ्चालनमा ल्याउनु पूर्व आफूले पत्थर कटिङ, ड्रिल, पालिससम्बन्धिको लालिम लिएको रावलले जानकारी दिए । घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको जिल्लाकै तीन महिने रत्न पत्थर प्रशोधन तालिम, फिस तिरेर काठमाडाैं र इण्डियाको जैसपुरमा गएर आफूले तालिम लिएको उनले जानकारी दिए । २३ वर्षका रावलले ५ लाख रुपैयाँ लगानी गरेर ५ वटा मेशिन खरिद गरेर उद्योग सञ्चालनमा ल्याएको बताए । ५ लाखमा कट् मेशिन, क्यालि ब्रोट्रिङ्ग र क्यापोसन मेशिन, फेसिङ्ग मेशिन २ वटा र ड्रिल मेशिन खरिद गरेको उनको भनाई रहेको छ ।
बीएड दोश्रो बर्षको अध्ययनलाई निरन्तरता दिईरहेका सुशिल रावलले बिगत ६ महिना पहिलादेखि उद्योग सञ्चालनमा ल्याएका छन् । ६ महिनादेखि सञ्चालनमा आएको उद्योगवाट प्रशोधन गरिएको झण्डै २० हजारभन्दा बढीको रत्न पत्थर बिक्री गरिसकेको उनले जानकारी दिए । जिल्लामा उद्योग सञ्चालन गर्दा रत्न पत्थरको ब्यबस्थित बजार नहुनु, उद्योग सञ्चालनका लागी युवाहरुलाई सरकारी अनुदानको ब्यबस्था नहुनु, मेशिन सञ्चालन गर्नका लागि आवश्यक पर्ने विद्युत्काे ब्यबस्था नहुनु लगायतका यतिवेला देखिएको समस्याहरु रहेको रावलले जानकारी दिए । रत्न पत्थरका लागी निकै उपयुक्त जिल्लाका रुपमा जाजरकोटलाई लिएको छ । जिल्लाको टालेगाउँमा पाईने काईनाईट विश्वकै उत्कृट मानिएको छ भने, जिल्लाका विभिन्न भागमा पाईने टुर्मालिनमा झण्डै ७ प्रजातिय टुर्मालिन पाईएको छ । जसमा ग्रिन, पेट्रोल, फेण्टा, लेवन, बल्याक, पिङ्क र टचग्रिन रहेका छन् । त्यस्तैगरी व्रेलिन, गार्नेट, क्वार्ज, फुनराईज जस्ता मुल्यवान पत्थरहरु जिल्लाका विभिन्न भागमा पाईने गरेका छन् भने, ईकोमारिनको पनि अध्ययन भईरहेको खोजतलास मान्यता प्राप्त कम्पनीहरुले वताईरहेका छन् ।
विश्वका विभिन्न मुलुकहरुमा सौन्दर्यता र मानव गहनाका रुपमा प्रयोग हुदै आएको रत्न पत्थर धार्मिक आस्था, प्राचिन मानव गहनाका रुपमा प्रयोग हुदै आएको छ । रत्न पत्थरहरु औषधीको रुपमा पनि प्रयोग गरिने गरिएको वताईएको छ । किलोको हिसावले खरिद गरि उद्योगमा प्रशोधन गरेर क्यारेटमा विक्रि वितरण गरिने भएको हुदा जेम्स उद्योग कहिले पनि घाटामा नजाने बताईएको छ । हुने खाने र धनी मानिसहरु पिवी र डिवीको पछि लागेर अमेरीका, अस्ट्रलिया लगाएतका धनी देशहरुमा जाने र गरिवहरु जीवन निर्वाहका लागी कामको खोजी गर्दै भारत र खाडी मुलुक तिर दौडिनुले देशमै लगानीकर्ता र आवश्यक जनशक्तिको अभावमा औद्यगिक विकास हुन नसकेको वेला जिल्लामा सुशिल रावलले सञ्चालन गरेको उद्योगलाई निकै महत्वका साथ हेर्ने गरिएको छ ।

विशेष