मनोरञ्जन

म मेहनती युवती हुँः सोनाक्षी सिन्हा

म मेहनती  युवती हुँः सोनाक्षी सिन्हा

बैशाख ५ । सोनाक्षी सिन्हाले हालै आफ्ना बारेमा व्यक्त गरेको भनाइ हो यो । त्यसो त उनी बलिउडकी जल्दीबल्दी नायिकामा गनिने भइसकिन् । पुराना अभिनेता शत्रुघ्नकी छोरीको परिचयबाट बलिउड छिरेको छोटो समयमै उनले आफ्नै नामले बाबु चिनाउने हैसियत बनाइसकेकी छन् । त्यसैले पनि यति बेला उनी करिअरको सुखद क्षणबाट गुज्रिरहेकी छन् । अभिनयबाहेक पनि उनी गाउन र नाच्नमा विशेष रुचि राख्छिन् । नृत्यसम्बन्धी रियालिटी शोमा आक्कलझुक्कल पुग्छिन् पनि, जज भएर ।

‘दबंग’ गर्ल भनेर बढी चिनिने सोनाक्षी सुनील सिप्पीको पछिल्लो फिल्म ‘नूर’ बाट सोही नामको मुख्य पात्रको नयाँ अवतारमा पनि देखिँदै छिन् । एकपछि अर्को सफल फिल्म दिन सफल सोनाक्षी ‘नूर’ मा पत्रकाररलेखकको भूमिकामा आउँदै छिन् । सबा इम्तियाजको उपन्यास ‘कराची, यु आर किलिङ मी’ मा आधारित उक्त फिल्मले उपन्यासले राखेको कराचीको सेटिङलाई मुम्बईमा परिवर्तन गरेको छ । नूरलाई फिल्ममा मुम्बईमा संघर्षरत पत्रकारको भूमिकामा देख्न सकिनेछ ।

‘पुस्तकको मर्म भने जस्ताको तस्तै छ,’ सोनाक्षीले फिल्मबारे भनेकी छन, ‘कराचीको कथालाई मुम्बईको बनाउँदा केही अत्यावश्यक परिवर्तन भने गरिएको छ ।’ उनले उपन्यास पढदा आफूले खुबै आनन्द उठाएको दाबी गर्दै थपिन्, ‘उपन्यासको पात्रले तपाईंलाई पूर्णतस् आशक्त बनाउने सामथ्र्य राख्छ । पुस्तकको एक पेज पढदै मलाई नूरको चरित्र निर्वाह गर्न मन लागिसकेको थियो । पुस्तकको मूल मर्म नै एउटी अविवाहित युवतीलाई व्यस्त सहरी जीवन बिताउन कति कष्टकर छ भन्ने हो । गतिलो अफिसमा काम गर्नु र ठूलो सहरमा बस्नु भनेको आर्थिक समस्या वा सार्वजनिक यातायातहरूमा हुने समस्याहरूबाट गुज्रनु हो । सहरी क्षेत्रमा मध्यमवर्गले सधैं सम्बन्धहरूलाई कायम राख्न भोग्नुपर्ने समस्या संसारभर उस्तै छ ।’

फिल्मको ट्रेलरमा पनि सोनाक्षीलाई जोकर पत्रकारको रूपमा चित्रित गरिएको छ, जसलाई रेल दुर्घटनाबारे रिपोर्टिङका लागि पनि पठाइन्छ र लगत्तै सन्नी लियोनीको अन्तर्वार्ताका लागि पनि बाध्य पारिन्छ । नायिकाले भनिन्, ‘नूर साँच्चै अनाडी छे । ऊ केवल जागिरमा झुन्डिएकी मात्र छे । ऊ एउटा निश्चित बिटमा रहेर मात्रै रिपोर्टिङ गर्न चाहन्छे तर हाकिमले त्यसो गर्न दिँदैन । ऊ साँच्चै गम्भीर खालको पत्रकारिता गर्न चाहन्छे । पढाइमा तेज छे । रंग पत्रकारितामा रुचि नभए पनि कसैले आफूलाई नसुन्दा दिक्क हुन्छे ।’

सोनाक्षीले अहिलेका युवतीहरू सबैले आफूलाई नूरको चरित्रमा कहीं न कहीं पाउने ठोकुवा गर्दै सुनाइन, ‘म आफैं पनि जिन्दगीमा सबै कुरा पाउन चाहन्छु । वास्तवमा, म पनि कामकाजी युवती नै हुँ । संघर्ष र असुरक्षा मेरा पनि पर्याप्त छन् । कति लक्ष्य पाउन नूर जस्तै कुदिरहेकी छु, अझैसम्म पनि ।’

sonaxi sinha

विशेष