मनोरञ्जन

अनमोलबारे भुवन भन्छन्, ‘मिडियाबाट अनमोललाई मैले लुकाएकै हो’

अनमोलबारे भुवन भन्छन्, ‘मिडियाबाट अनमोललाई मैले लुकाएकै हो’

चर्चित फिल्म नायक भुवन केसी आफ्ना छोरा अनमोलले अभिनय गर्ने फिल्म ‘कृ’मा यति बेला व्यस्त छन् । कृमा अनमोल केसीले २० लाख रुपैयाँ लिएर नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक पारिश्रमिक लिने कलाकारका रुपमा आफूलाई स्थापित गरिसकेका छन् । ‘कृ’ को सुटिङ वैशाख ६ देखि हुँदैछ । निर्माण अघि नै चर्चा पाएको ‘कृ’ बारे फिल्मका लगानीकर्ता भुवन केसीसँग गरिएको कुराकानीको सम्पादित अंशः


महत्वाकांक्षी फिल्म ‘कृ’ को सुटिङ सुरु हुँदैछ, कतिको आशावादी हुनुहुन्छ ?

फिल्म सुटिङमा जानु अघि नै धेरै गृहकार्य गरेका छौं । गृहकार्य कम भयो भनेर एक महिना सुटिङ सारेर काम गर्यौं । अब भोलि (वैशाख ६) देखि सुटिङ हुँदैछ । चलचित्रमा अहिलेको सफल र लोकप्रिय कलाकार अनमोल केसी हुनुले पनि आशा बढी भएको छ । यो फिल्ममा अहिलेकी सबैभन्दा हिट मोडल अदिती बुढाथोकी नायिका छिन् । फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दै हुनुहुन्छ । म र सुभाष गिरी निर्माता हौं ।


अनमोल हुनु नै फिल्म सफल हुने शर्त हो ?

अनमोलले अहिलेसम्म चार फिल्म गर्यो । उसका चार फिल्म नै सुपरहिट भए । पहिलो फिल्म होस्टेलमा भुवन केसीको छोरा अनमोल भनियो । त्यसपछि उसले आफ्नो नाम आफै कमायो । अहिले अनमोल केसी भन्दा पुग्छ, भुवन केसीको छोरा भनिरहन पर्दैन । उसले जे जति काम गर्छ, अति मेहनत गरेर, कुनै कसर बाँकी नराखी गर्छ । यहि कारण उसले वर्षमा एउटा फिल्म मात्रै गर्छ । यस्तो मेहनती कलाकारले नायक भएर फिल्म खेल्दा कसरी सफल नहोला त ? त्यसमाथि हाम्रो टिम पनि अत्यन्त मेहनती र राम्रो छ ।


अनमोललाई युवती फ्यानहरुले फोन गरेर हैरान पार्छन् भन्ने कुरा छ के हो ?

कुरा साँचो हो । फोन अति नै आउँछ । उसले सिम पनि बदलिरहन्छ । यदि अहिलेको कुरा गर्नु हुन्छ भने त उसले मोबाइल नै बोक्दैन । बिहानैदेखि बेलुकासम्म व्यस्त हुन्छ । फोनमा कुरा गर्न साध्य नभए पनि उसले पटक पटक आफ्ना प्रशंसकहरुलाई सम्मान र माया गरेर सन्देश दिइरहेकै छ ।


तपाईले अनमोललाई मिडिया, फ्यानबाट अहिले टाढा राख्नु भएको छ भन्छन् मानिसहरुले कुरा के हो ?

यो कुरा पनि साँचो हो । म झुठो बोल्दिनँ । अहिले अनमोललाई मिडियाबाट टाढा राखेकै हो । फिल्म कृमा अनमोल नयाँ गेटअपमा आउँदैछ । त्यो गेटअप फिल्ममार्फत नै सार्वजनिक होस भन्ने निर्देशक, निर्माताको चाहना छ । यसकारण उसले अहिले टेलिभिजनहरुमा अन्तर्वार्ता दिएको छैन । पत्रकार साथीहरुले बेला बेलामा खोज्नु हुन्छ । मसँग भएको बेला मेरो मोबाइलबाट उसँग कुरा गराइ पनि दिन्छु । फिल्म राम्रो होस्, व्यवसायिक रुपमा सफल होस्, दर्शकले मनोरञ्जन लिन सक्नुहोस भनेर यसो गरिएको हो ।


फिल्म कृको सुटिङ कति दिनमा सकिन्छ ?

अहिलेको हाम्रो योजना ५५ दिनको हो । यसमा हामीले ठूलो धनराशी खर्च पनि गर्दैछौ । अहिलेको हिसाबले १ करोड ७५ लाख खर्च हुन सक्छ । फिल्मको सुटिङ काठमाडौं, पोखरा, चितवनमा हुनेछ । विदेशमा कतार र मलेसियामा पनि हुन सक्छ ।


‘कृ’ कस्तो खालको फिल्म हो ?

यो मूलत प्रेम कथामा आधारित नै हो ।


आफ्नो जमानामा तपाई पनि खुब रुचाइएको नायक हुनुहुन्थ्यो, अहिले छोराले त्यो स्थान लिँदा कस्तो लागेको छ ?

हेर्नुस्, सबैको एक एक समय हुन्छ । म मेरो समयमा सफल भए । मलाई दर्शकले मन पराउनु भयो । माया गर्नुभयो । मैले पनि उहाँहरुको सम्मानका लागि काम गरे होला । त्यसको पुरस्कार मलाई उहाँहरुले दिनु भयो । अब अनमोलको जमाना आयो । उसले राम्रो गरोस्, सुपर डुपर फिल्म आओस् । राम्रो फिल्म नेपालमै बन्छ भन्ने दर्शकले महशुस गरुन । त्यति भए पुग्छ । अरु के चाहियो र ?


तपाई मोटरसाइकल चढेर त्यो बेला काठमाडौका सडक गल्लीमा आफूलाई फिल्मकै हिरो जस्तो ठानेर हुइँकिनु हुन्थ्यो रे, त्यो देखेर तपाईलाई फिल्ममा अफर आएको भन्ने सुनिन्छ, हो ?

एकदमै हो । त्यो बेला काठमाडौंका सडक गल्लीमा मोटरसाइकल चढेर हिँडनु ठूलो शानको कुरा थियो । त्यो शान मलाई मेरो परिवारले पूरा गरिदिएको थियो । मलाई फिल्मा शौख पनि थियो । मान्छे हेन्डसम थिएँ । मोटरसाइकल चढेर त्यसरी हिँडेको निर्देशक मिनाक्षी आनन्दले देख्नु भएछ । उहाँले नै मलाई जुनी फिल्मको नायकमा अफर गर्नु भयो । मैले हुन्छ भने । त्यसपछि लाइफ त फिल्ममय भइहाल्यो ।

Anmol KC bhuwan kc

विशेष