समाज

इलामका युवा गार्इपालन व्यवसायतर्फ अाकर्षित हुँदै

इलामका युवा गार्इपालन व्यवसायतर्फ अाकर्षित हुँदै
वैशाख - ५ । फाकफोकथुम गाउँपालिका–२ का रूद्रबहादुर थापाले गाउँमै व्यावसायिक गाईपालन सुरु गरेका छन् । थापाले मिलन गाईफार्म दर्ता गरेर रु १२ लाखको लागतमा गाईपालन व्यवसाय थालेका हुन् । पाँच माउ गाईबाट व्यवसाय थालेका उनले यसअघि डेरी उद्योग सञ्चालन गरेका थिए । उनले रु एक लाखका दरले गाई खरिद गरेका हुन् । होलिस्टिन जातका गाईले दैनिक १२ देखि १५ लिटरसम्म दूध दिने गरेका छन् । विसं २०६० देखि नै डेरी उद्योग व्यवसाय सञ्चालन गरेका थापाले अहिले आफ्नो गोठ र गाउँका कृषकको गरी दैनिक ३५० लिटर दूध प्रशोधन गर्छन् । गाईभैँसीलाई कुँडो, खोलेपानी, घाँस पराल गर्ने कामदारलाई उनले मासिक रु १५ हजार पारिश्रमिक दिएका छन् । 'विदेशमा कमाइने पैसा यही आर्जन गर्न सकिन्छ,' उनले भने । उनको डेरी उद्योगबाट उत्पादित घ्यू, छुर्पी झापाको बिर्तामोडमा बिक्री हुन्छ । यहाँको छुर्पी कुकुरको आहाराका लागि अमेरिकासम्म पुग्न थालेको छ । गाउँबाटै छुर्पी प्रतिकिलो रु ८०० र घ्यू रु ५०० मा बिक्री हुन्छ । पछिल्लो समय यहाँको गाउँ गाउँमा डेरी उद्योग सञ्चालनमा आएका छन् । फाकफोकथुम–२ का किशोर शर्माले पाँच माउ गाईपालनसँगै डेरी उद्योग सञ्चालन गरिरहेका छन् । दुई वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेका शर्मा गाउँमै मनग्य आम्दानी गर्न सफल भएका छन् । मासिक रु २० हजारदेखि रु २५ हजारसम्म आम्दानी हुने गरेको शर्मा बताउँछन् । जिल्ला पशुसेवा कार्यालयले व्यवसाय सञ्चालन गर्न युवाका लागि अनुदानको व्यवस्था गरेको छ । जिल्लामा दैनिक ५० हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले बताए ।

cow farming

विशेष