समाज

सकियो भक्तपुरको विस्केट जात्रा

सकियो भक्तपुरको विस्केट जात्रा
बैशाख ६ ।   नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा सम्पन्‍न भएको छ । विक्रम संवत्अनुसार सौरमासका आधारमा चल्ने सो जात्रा नव वर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी  रथ तानेर सम्पन्‍न भएको हो । गत चैत २८ गते तौमढीबाट साँझ ५ बजेदेखि भैरवको रथ तानेर सुरु भएको सो जात्राका अवसरमा मंगलबार साँझ पनि ५ बजे नै गःहिटीबाट स्थानीयवासीले रथ तानेका थिए । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई परम्परानुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले तानेका छन् । रथ तान्ने क्रममा रथको पाङ्ग्रा अड्याउने भाग भाँचिएपछि रथ गुड्न नसक्ने अवस्थामा गःहिटीमै अड्किएको छ । रथबाट भैरवको मूर्तिलाई तान्त्रिक विधिअनुसार द्यो छेँ अर्थात् देवता घरमा भित्र्याइएपछि जात्रा सम्पन्न हुने परम्परा छ । रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुन सक्ने भएकाले जात्रा सञ्चालन हुने क्षेत्रमा एक हजार एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। जात्राको सुरुको दिन रथ तान्ने क्रममा मध्यरातिसम्म ढुङ्गा हानाहान हुँदा १२ जना घाइते भएका थिए।

Bisket Jatra

विशेष