समाज

खानेपानी सुविधाबाट नगरपालिकाकै दलित समुदाय वञ्चित

खानेपानी सुविधाबाट नगरपालिकाकै दलित समुदाय वञ्चित
वैशाख–६ । पर्वतका दलित समुदाय राज्यकै खानेपानी आयोजनाको सुविधाबाट वञ्चित भएका छन् । पर्वतको फलेवास नगरपालिका– ५ खानीगाउँका दलित समुदायलले नियमित खानेपानी महसुल तिर्न नसक्ने भन्दै खानेपानी सुविधाबाट वञ्चित गराइएको स्थानीयवासी यामबहादुर परियारले जानकारी दिए । सरकारको झन्डै सात करोडको लागतमा निर्माण गरिएको फलेवास वृहद खानेपानी उपभोक्ता समितिका अध्यक्ष दीर्घनारायण कुँवरसहितको कार्यसमितिले साविकको खानीगाउँ– ७ का दलित बस्तीमा खानेपानीको लाइन विस्तार गर्न नदिएको परियारले बताए । दलित तथा विपन्न समुदायका परिवार बसोवास गर्ने उक्त ठाउँमा करिब ४५ घरधुरी खानेपानी सुविधावाट वञ्चित बनेका हुन् । हाम्रै घर अघिबाट पानीको पाइपलाइन विस्तार गरिएको छ तर हामीलाई पानी दिइएको छैन स्थानीय साजन परियारले भने – “पैसा तिर्न सक्दैनन भन्ने बाहना बनाएर हाम्रो गाउँमा पानी नदिइएको हो । गरिबीको कारण देखाउँदै राज्यले निर्माण गरिदिएको योजनाको पानी उपभोगबाट वञ्चित गराउँदासम्म सम्बन्धित निकायले कुनै कारबाही गरेन । ” विपन्न र आर्थिक हैसियत कमजोर रहेका समुदायलाई यसरी खानेपानीबाटै वञ्चित गराउनु मानवअधिकारको गम्भीर उलङ्घन भएको स्थानीयवासीको ठहर छ । आर्थिक हैसियत कमजोर रहेको बाहनामा यसरी एउटा समुदायलाई खानेपानीबाट वञ्चित गराउँदा दलितप्रति गरिने व्यवहारमा समेत प्रश्न चिन्ह खडा गरेको छ । पीडित समुदायले खानेपानीको सुविधाबाट वञ्चित गराउन खोजिएको भन्दै फलेवास नगरपालिका, जिल्ला समन्वय समिति र जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा उजुरीसमेत दिएका छन् । समितिका अध्यक्ष दिर्घनारायण कुँवरले आफूले केही व्यक्तिलाई सोधेको तर, पैसा तिर्न सक्दैनाैँ भनेपछि योजना विस्तारमा रोक लगाएको तर खानेपानी सुविधावाट कसैलाई वञ्चित गर्न नखोजेको होइन भने । दलित समुदायप्रति गरिने व्यवहार कम हुँदै गए पनि दलितप्रति हेरिने व्यवहार भने पूर्णरुपमा परिर्वतन भइनसकेको नेपाल दलित सङ्घ जिल्ला सहसचिव साजन परियारले बताए ।

खानेपानी सुविधा दलित समुदाय नगरपालिका पर्वत वञ्चित

विशेष