समाज

मानव र वन्यजन्तुबीच हुने द्वन्द्व कम गर्नुपर्नेमा जोड

मानव र वन्यजन्तुबीच हुने द्वन्द्व कम गर्नुपर्नेमा जोड
वैशाख–६ । राष्ट्रिय निकुञ्ज, आरक्षण क्षेत्र तथा वन्यजन्तु संरक्षण क्षेत्रमा हुने मानवीय द्वन्द्व कम गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ‘युवा अग्रसरताः संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नाराका साथ वैशाख १ गतेदेखि सुरु भएको २२ औँ वन्यजन्तु सप्ताहका क्रममा आज यहाँ आयोजित ‘वन्यजन्तु संरक्षणसम्बन्धी अन्तर्क्रियामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले संरक्षित क्षेत्रमा हुने द्वन्द्व कम गर्न विभाग लागिपरेको बताए । महानिर्देशक खड्काले पछिल्लो समय राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण क्षेत्र र आरक्षण क्षेत्रमा वन्यजन्तुको वृद्धि सोचेजस्तो भएको बताए । उनले भने, “पहिला सानो इकाइले संरक्षण गरेपनि पछिल्लो समय वन मन्त्रालयअन्तर्गतका कर्मचारी, नेपाली सेना र विभिन्न सङ्घसंस्थाको सहयोगले यसको सङ्ख्यामा वृद्धि भएको हो ।” महानिर्देशक खड्काले मानव र वन्यजन्तुबीच हुने द्वन्द्वले बर्सेनि धेरै मानिसले ज्यान गुमाउनुपरेको भन्दै यसलाई कम गर्न आगामी कार्यक्रममा प्राथमिकताका साथ राखेको स्पष्ट पारे । विश्व वन्यजन्तु कोष नेपालका वरिष्ठ कार्यक्रम निर्देशक डा घनश्याम गुरुङले नेपालको पर्यटनको मुख्य आधार प्रकृति भएकाले यसभित्र रहेको वन्यजन्तु संरक्षण गर्नु जरुरी रहेको बताए । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक करुण शाक्यले शिक्षा, अनुसन्धान र पर्यटक आकर्षण गर्नका लागि वन्यजन्तुको ज्यादै महत्व रहेको भन्दै यसको विकास जरुरी रहेको बताए । सप्ताहमा ब्यानर अनावरण, चरा अवलोकन, माध्यामिक विद्यालयस्तरीय चित्रकला तथा कविता प्रतियोगिता, वन्यजन्तुसम्बन्धी वृत्तचित्र प्रस्तुत, वन्यजन्तु संरक्षण तथा साइटीसको कार्यान्वयन सम्बन्धी अन्तक्र्रिया कार्यक्रम, वन्यजन्तु संरक्षणसम्बन्धी टेबुल छलफलसमेत गरिएको थियो । सप्ताह भोलिसम्म चल्नेछ ।

द्वन्द्व मानव वन्यजन्तु

विशेष