डीपीएलको फाइनलमा टीम चौराहा र विराटनगर आमने सामने हुने
वैशाख ७ । धनगढी प्रिमियर लिगको फाइनलमा टीम चौराहा धनगढी र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
धनगढी क्रिकेट मैदानमा आज(बिहिबार) भएको दोस्रो सेमिफाइनलमा धनगढी चौराहाले रुपन्देही च्यालेन्जर्सलाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो ।
टस हारेर पहिले व्याटिङ गरेको चौराहाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनायो । धनगढीका लागि सर्वाधिक रन चौराहाका कप्तान पारस खड्काले ६७ रनको योगदान गरे ।
त्यस्तै सौरभ खनालको नाममा २४ रन रहयो भने ओपनर व्याटस्म्यान राजु रिजालले २५ रन बनाए । जवाफि व्याटिङ गरेको रुपन्देही च्यालेन्जर्सले १५ ओभर १ बल खेल्दा सबै विकेट गुमाउँन पुग्यो ।
रुपन्देहीका ३ खेलाडीलेबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । रुपन्देहीका खेलाडी राजेश पुलामी र कृष्ण कार्कीको समान १४ रन नै सर्वाधिक रहयो । रुपन्देहीलाई सस्तैमा समेट्न चौराहाका सौरभ खनाल र ललित राजवंशीले समान ३ विकेट लिए ।
फाइनल खेल फागुन ९ गते हुने छ । प्रतियोगितको विजेताले १५ लाख तथा उपविजेताले ७ लाख हात पार्ने छन् ।