देश

शिक्षण पेसाभन्दा राजनीति प्याराेः काभ्रेका ८ शिक्षकले दिए राजीनामा

शिक्षण पेसाभन्दा राजनीति प्याराेः काभ्रेका ८ शिक्षकले दिए राजीनामा
वैशाख - ७ गते । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न काभ्रे जिल्लाका केही शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएका छन् । जिल्ला शिक्षा कार्यालयका विद्यालय व्यवस्थापन शाखाका प्राविधिक सहायक देवीप्रसाद दाहालका अनुसार बुधबारसम्ममा आठ जना शिक्षकले राजीनामा दिएका छन् । उनीहरुले घरायसी कारण देखाएर राजीनामा दिएका छन् । राजीनामा दिने शिक्षकहरुमा हिमालय मावि बनेपाका निर्मला श्रेष्ठ, बज्रयोगीनी प्रावि महादेवस्थानका रामहरी नेपाल, सञ्जीवनी मावि धुलिखेलका रामकुमार तखाछे, बागदेवी मावि सल्लेभुम्लुका रमेशराज खरेल, गणेश निमावि चलाल गणेशस्थानका प्रेमकुमार तामाङ, भैरव मावि च्याम्राङबेँसीका बालकृष्ण फुयाँल, स्वेतगणेश प्रावि पनौतीका तीर्थमाया प्रधान र कुशादेवी माविका रमेश पौडेल रहेका छन् । निर्मलाले बनेपा नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट उममेदवार बन्न राजीनामा दिएको बताउनुभयो । 'म उम्मेदवारको आकांक्षी हुँ, पार्टीले दिने नदिने टुङ्गो लागेको छैन,' उनले भने । कुशादेवी माविका प्रधानाध्यापक पौडेल पनौती नगरपालिकाको नगरप्रमुखका लागि नेकपा (एमाले)बाट दावेदार हुनुहुन्छ । 'नगरप्रमुखमा दाबी गरेको छु,' पौडेलले भने, “पार्टीले कतिको योग्य देख्छ थाहा छैन ।'  आकांक्षी धेरै जना भएकाले निर्णय हुन नसकेको उनले बताए। यस्तै स्वेतगणेश प्रावि पनौतीका प्रधानले पनौती नगरपालिकाको उपप्रमुखका लागि नेकपा (एमाले)बाट उम्मेदवार बन्ने सोच बनाएका छन्। 'उपप्रमुखमा उम्मेदवारी दिन शिक्षण पेसाबाट राजीनामा दिएकी हुँ,' प्रधानले भने । त्यस्तै बेथानचोक गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिन गणेश निमावि चलाल गणेशस्थानका शिक्षक तामाङले शिक्षण पेसाबाट राजीनामा दिएको बताउनुभयो । उनी नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बन्न लागेका हुन् । राजीनामा दिएका अन्य शिक्षकले पनि नगरपालिका र गाउँपालिकामा उम्मेदवार बन्न शिक्षण पेसाबाट राजीनामा दिएका बताइएको छ ।

nirbachan स्थानीय तहको निर्वाचन

विशेष