समाज

बेमौसमी वर्षाले भोजपुरका ग्रामीण सडक प्रभावित

बेमौसमी वर्षाले भोजपुरका ग्रामीण सडक प्रभावित
वैशाख–८ । बेमौसमी वर्षात्ले भोजपुरको मध्यपहाडी राजमार्ग लगायत ग्रामीण सडकहरू प्रभावित भएका छन् । हालको बेमौसमी ठूलो वर्षात्का कारण जिल्लासँग तराई र गाउँसम्म जोडिएका सडक प्रभावित भएका हुन् । गएरातिको वर्षात्का कारण भोजपुर–चखेवा हुँदै खोटाङ जाने यातायातका साधन चल्न सकेका छैनन् भने भोजपुर–लेगुवा सडकखण्डमा समेत यातायात सञ्चालन गर्न गाह्रो भएको संयुक्त बस व्यवसायी सङ्घ, भोजपुरले जनाएको छ । भोजपुर–घोडेटार र भोजपुर–दिङ्ला सडकखण्डसमेत वर्षात्ले प्रभावित बन्दै आएको छ । कच्ची सडक वर्षाले हिलाम्य भएपछि यातायात सञ्चालन गर्न गाह्रो भएको बस चालकले बताएका छन् । जिल्लाको एकमात्र हवाईमार्गको समेत स्तरोन्नति भइरहेकाले बेमौसमी वर्षात्ले सडक अवरुद्ध भएपछि जिल्लाका सर्वसाधारण मारमा परेका छन् । रासस

भोजपुर

विशेष