समाज

भारतीय गाडीले ठक्कर दिँदा तीनजना गम्भीर घाइते

भारतीय गाडीले ठक्कर दिँदा तीनजना गम्भीर घाइते
वैशाख–८ । महोत्तरीको मटिहानीमा बिहीबार साँझ भारतीय गाडीले ठक्कर दिँदा दुई महिलासहित तीनजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मटिहानी–४ का ३२ वर्षीया हसिना खातुन, धीरापुर–६ बस्ने २० वर्षीय बबलु साह र धनुषा जिल्लाको तुल्सियाही जब्दीकी ४० वर्षीया खैरुना खातुन रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ । मटिहानीबाट जलेश्वर आउँदै गरेको बिएसआर १ बिएल ०४७६ नंको मारुती गाडीले मटिहानी–४ स्थित सडकमा भारतबाट कपडा किनेर आउँदै गरेका तीनैजनालाई ठक्कर दिँदा उनीहरु गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए । घाइतेमध्ये महिला दुवैको पेटमाथिबाट चक्का चलेको र तीनै जनाको शरीरको अन्य भाग पनि किचिएकाले उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुवै महिलालाई गएराति अञ्चल अस्पताल जनकपुरमा प्राथमिक उपचारपश्चात् विशेष उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ भने युवक साहको उपचार भारतको मधवापुरस्थित एसएसबी क्याम्पमा भइरहेको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिप्रका, महोत्तरीले जनाएको छ । रासस

ठक्कर महोत्तरी

विशेष