
वैशाख–८ । एक सातायतादेखि दमौली अस्पतालमा रुघाखोकी र झाडापखालाका बिरामीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ ।
दैनिक १५० भन्दा बढी त्यस्ता रोगका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । वैशाख लागेदेखि नै त्यस्ता रोगका बिरामीको सङ्ख्या बढेको हो । यसअघि उक्त रोगका बिरामी छिटफुट रुपमा मात्रै उपचारका लागि आउने गर्थे । दमौली अस्पतालका डा कुलदीप केसीले रुघाखोकी र झाडापखालाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको बताए ।
'अत्यधिक गर्मी बढेसँगै त्यस्ता बिरामीको सङ्ख्या बढेको हो,' डा केसीले भने । आकस्मिकमा समेत दैनिक ३५/४० जना बिरामी उपचारका लागि आउने गरेको अस्पतालकी अहेब रामकला पन्थले बताइन् । बिरामीको अवस्था हेरेर एन्टिबायोटिकसमेत दिने गरिएको उनले बताइन् । बिरामीलाई पानी उमालेर खान, बासी सडेगलेका खानेकुरा नखान, वरपरको वातावरण सफा राख्न, शौचालय गएपछि साबुन पानीले हात धुन, सफा सुग्धर भएर बस्न सल्लाह दिँदै आएको अस्पतालका चिकित्सकले बताए ।
ब्यास नपा, जामुने, रिसिङ, म्याग्देलगायतका गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेको बताइएको छ । रासस
बिरामी