देश

जाजरकोटमा अनिश्चितकालिन यातायात सेवा बन्द

जाजरकोटमा अनिश्चितकालिन यातायात सेवा बन्द

वैशाख - ८ । जाजरकोट जिल्ला सरदमुकाम खलंगामा टायर बालेर अनिश्चितकालिन यातायात बन्दको आह्वान गरिएको छ । गत फागुन २६ गते भएको बस दुर्घटनाका पीडित परिवारले क्षतिपूर्ति नपाएको भन्दै जिल्ला सरदमुकाम खलंगामा टायर बालेर अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेका हुन् । बन्दले जिल्लाबाट बाहिरिने र भित्रिने यातायातका साधनहरु शुक्रबारदेखि ठप्प भएका छन् । बस दुर्घटनामा परी ज्यान गुमाएका आफन्त र घाइतेले राहत नपाएपछि पीडित परिवारहरुले जिल्ला सदरमुकाम खलंगाको बिभिन्न ठाउँमा टायर बालेर यातायात सेवा ठप्प पारेका हुन् । यातायात बन्दले जनजीवन प्रभावित भएको छ । छिन्चु—जाजरकोट सडकखण्ड अन्तरगत पर्ने भेरी नगरपालिका–४ बोहरामा गत फागुन २६ गते यात्रुबाहक बस दुर्घटना हुँदा २७ जनाले ज्यान गुमाएका थिए भने ३५ जना घाइते भएका थिए । घटना लगत्तै स्थानीय प्रशासनको रोहवरमा मृतकका आफन्तलाई तत्काल एक लाख दिने र बाँकी चार लाख रुपैयाँ पछि बुझाउने भनि पीडित परिवारसँग सम्झौता गरिएको थियो । सो रकम हालसम्म मृतकका आफन्तले नपाएपछि पीडित परिवार आन्दोलनमा उत्रिएका हुन् । बस दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचार खर्च सबै ब्यहोर्ने र मृतकका परिवारलाई क्षतिपूर्तिका लागि पहल गर्ने भन्दै पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, सांसद रिता रावल, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, विभिन्न राजनीतिक दल र भेरीगंगा बस व्यवसायिक समितिका पदाधिकारीको रोहवरमा सम्झौता भएको थियो । तर, हालसम्म २५ हजार रुपैयाँ किरिया खर्चबाहेक केही नपाएको मृतकका आफन्तले बताएका छन् । सम्झौता भएको रकम हालसम्म नपाएको भन्दै उनीहरु आक्रोशित भएका छन् । यसअघि पनि पीडित परिवारले राहतको माग गर्दै चैत २० देखि २४ गतेसम्म यातायात सेवा बन्द गराएका थिए । माग पूरा नभएसम्म यातायात सेवा ठप्प पर्ने पीडित संघर्ष समितिका अध्यक्ष दलचन गिरीले जानकारी दिए ।
दीपबहादुर घर्ती/जाजरकाेट

road accident

विशेष