समाज

निर्वाचनमा भारतद्वारा सहयोग गर्ने प्रतिबद्धता

निर्वाचनमा भारतद्वारा सहयोग गर्ने प्रतिबद्धता
वैशाख - ९ । बाँके जिल्लाको राप्तीपारि बघौडा क्षेत्रअन्तर्गत नेपालसँग सीमा जोडिएको क्षेत्रका भारतीय सुरक्षा अधिकारीसँग स्थानीय निकाय निर्वाचनका सन्दर्भमा सुरक्षा अधिकारीहरुले छलफल गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको नेतृत्वमा सो क्षेत्रको सुरक्षाको अवस्था र निर्वाचन तयारी व्यवस्थापन अनुगमनका लागि त्यहाँ पुगेको टोलीले निर्वाचनमा दुई पक्षबीच आपसी सुरक्षा समन्वय र सहयोगका विषयमा छलफल गरेको हो । 'हाम्रो टोलीले सुरक्षा सहयोग र समन्वयका लागि आग्रह गरेको हो, भारतीय सुरक्षा अधिकारीहरुले आफ्नो तर्फबाट आवश्यक सबै प्रकारको सुरक्षा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्', प्रजिअ पन्थको भनाइ छ । यसैगरी, टोलीले सो क्षेत्रको सोनारी र नरैनापुर गाउँपालिकाअन्तर्गत रहेका प्रहरी चौकीका प्रमुख, निर्वाचन अधिकृतसँग पनि सुरक्षा र निर्वाचनको तयारीका विषयमा जानकारी लिएको थियो । जिल्ला प्रहरी प्रमुख टेकप्रसाद राई, नेपाली सेनाका प्रमुख सेनानी विश्वराज कोइराला, निर्वाचन अधिकृतद्वय माधव शर्मा र सुरेन्द्र पौडेलसमेत रहनुभएको टोलीले त्यस क्षेत्रका मतदातासँग संवाद गर्नुका साथै निर्वाचन शिक्षा, निर्वाचन प्रचारप्रसारलगायतका विषयमा पनि जानकारी लिएको थियो । 'सो क्षेत्रमा निर्वाचनको माहोल देखिएको छ, मतदाताहरु निर्वाचनमा मतदान गर्न आतुर देखिएका छन्, उनीहरु सबैको साझा चिन्ता भनेको सुरक्षा व्यवस्था बलियो बनाउनु नै रहेको छ', प्रजिअ पन्थले भनेका छन् ।

Nepal-India

विशेष