खेल

भूकम्प गएको २ वर्ष पूरा, सरकारी अनुदानबाट एक घर पनि बनेनन्

भूकम्प गएको २ वर्ष पूरा, सरकारी अनुदानबाट एक घर पनि बनेनन्

वैशाख १२ । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि सरकारी अनुदानबाट घर निर्माण गर्ने पीडितको संख्या शून्य छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूकम्प प्रभावित १४ जिल्लामा अनुदान पाउनयोग्य ६ लाख २६ हजार ६ सय ९५ भूकम्पपीडित पहिचान भएका थिए, त्यसमध्ये पाँच लाख ६२ हजार दुई सय ७८ सँग अनुदान सम्झौता भएको छ । तर, पहिलो किस्ताबापतको अनुदान रकम पाउने पीडितको संख्या ५ लाख ४३ हजार ६ सय ६ मात्रै छन् । पहिचान गरिएकामध्ये ८६ प्रतिशतले मात्रै पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ अनुदान लिएका छन् ।

त्यस्तै, दोस्रो किस्ताबापतको एक लाख ५० हजार रुपैयाँ अनुदान लिन भूकम्प प्रभावित १४ जिल्लाबाट ३४ हजार दुई सय ९४ निवेदन परेका थिए । तीमध्ये १४ हजार पाँच सय ५७ भूकम्पपीडित मात्रै दोस्रो किस्ताबापतको अनुदान रकम पाउन योग्य भए । पहिचान गरिएका कुल पीडित घरपरिवारमध्ये २।३२ प्रतिशत मात्रै दोस्रो किस्ताबापतको एक लाख ५० हजार रुपैयाँ पाउन योग्य देखिए ।

प्राधिकरणको कार्यविधिअनुसार तेस्रो किस्ताबापत एक लाख रुपैयाँ अनुदान दिन सकिने व्यवस्था छ । तेस्रो किस्ताबापतको अनुदान रकम पाउन सक्दा मात्रै भूकम्पपीडितको घर बन्न सक्छ । तर, तेस्रो किस्ताबापतको अनुदान रकम अझसम्म कसैले पनि पाउन सकेका छैनन् । जसका कारण सरकारी अनुदानबाट १४ जिल्लाका कुनै पनि भूकम्पपीडितले निजी आवास निर्माण गर्न सकेका छैनन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। गोविन्दराज पोखरेलले अहिलेसम्म कुनै पनि भूकम्पपीडितले सरकारी अनुदानबाट तेस्रो किस्ताबापतको अनुदान रकम नलिएको बताए । ‘तेस्रो किस्ताबापतको अनुदान रकम अहिलेसम्म कसैले पनि लिन सकेका छैनन् । यसो हुनुको मुख्य कारण पहिलो किस्तापछि दोस्रो र तेस्रो किस्ताबापतको अनुदान रकम लिन व्यवस्था गरिएको कानुनी झन्झट हो । पुनर्निर्माणमा खटिने जनशक्तिको चरम अभाव छ । जनशक्ति नहुँदा घर कसरी निर्माण गर्ने,’ उनले भने ।

 

Bhukampa

विशेष