समाज

भारतीय ट्रक चालकले भन्सार नाका ठप्प पारे

भारतीय ट्रक चालकले भन्सार नाका ठप्प पारे

वैशाख १३ । भारतीय ट्रक चालकले विराटनगर भन्सार नाकाको आवागमन १३ घन्टासम्म ठप्प बनाएका छन् ।

नेपाल प्रवेश गर्ने जोगवनी नाकामा सोमबार साँझबाट दुईवटा ट्रक तेस्र्याउँदै भारतीय ट्रक चालकले नाका ठप्प बनाएर मालवाहक तथा अन्य सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गराएका हुन् । यो घटनालाई नेपाली प्रशासनले भारतीय चालकको दादागिरीका रूपमा लिएको छ । डब्लूबी ३३ ए ६०८६ र एचआर ५५ जी ५७१९ नम्बरका दुईवटा ट्रक नेपाल प्रवेश गर्ने मुख्य नाकामा तेस्र्याएर चालक फरार भएका थिए । मुख्य नाकामा ट्रक तेस्र्याएपछि नाका ठप्प भएको हो ।

सर्वसाधारणलाई नेपालबाट भारत र भारतबाट नेपालतर्फ पैदल आवतजावत गर्न पनि कठिनाइ भएको थियो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार भारतीय चालकले ट्रक तेस्याएर अवरोध गरेपछि एम्बुलेन्स, शव वाहनलगायतका साधन र अन्य मालवाहक सवारीसाधन आवतजावत गर्न पाएनन् । अवरोधका कारण आवतजावत गर्न नपाउँदा नेपाल र भारतपट्टि सयौं सवारीसाधनको लाम लागेका थिए ।

ड्युटीमा खटिएका नेपाल प्रहरीसँग वादविवाद भएपछि भारतीय ट्रक चालकले दादागिरी शैलीमा नाकामा मालवाहक ट्रक तेस्र्याएर भन्सारको आवतजावत नै ठप्प बनाएको नेपाल प्रहरीले जनाएको छ । भारतबाट सामान लोड गरेर आएको डब्लूबी ४१ डी ०५२२ नम्बरको ट्रक विराटनगर भन्सार कार्यालय परिषरको सडकमै छाडेर सोमबार साँझ चालक मन्जिर आलम विराटनगर भन्सार कार्यालय प्रवेश गरेका थिए ।

अन्नपूर्ण

विशेष