समाज

आज मातातीर्थ औंशी, धुमधामसँग मनाइँदै

आज मातातीर्थ औंशी, धुमधामसँग मनाइँदै
बैशाख १३ । नौं महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔंसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । आजको दिन जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवंगत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।जीवित अथवा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । आज काठमाडौंको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लागेको छ । बौद्ध धर्मावलम्बी समेत यहाँ दिवंगत आमाको सम्झनामा श्राद्ध गर्न पुगेका छन् । मुलुकका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवंगत आमाको मुख हेर्ने गर्दछन् । दिवंगत आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लाग्ने गर्दछ । यहाँ आएर आमाको नाममा संकल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भई दिवंगत माता खुसी हुने शास्त्रमा वर्णन गरिएको छ ।

Ama

विशेष