मेरी आमा
संसारका कुनै पनि नारी एक दिन आमा बन्छन् र बन्नै पर्छ । अपवाद सन्तान नभएकालाई छाड्ने हो भने सबै नारी एकदिन आमा बन्ने शौभाग्य पाउँछन् ।
एउटी नारी छोरी, बहिनी, श्रीमती, बुहारी, भाउजू, काकी, माईजू आमाजू हुँदै सासूसम्म बन्छिन् । तर समाजले नारीको स्वरुपलाई त्यतिबेला सम्मपूर्णता मान्दैन जबसम्म उनी आमा बन्दिनन् । स्वभावैले नारीहरु सानैदेखि बच्चाप्रति अलिक बढीनै लगाव राख्छन् । आफ्ना घरमा भएका भाईबहिनी मात्रै होईन छर छिमेकीमा भएका स–सना बालबालिका प्रति उनीहरु आर्कर्षित हुन्छन् । भनिन्छ जब एक नारी आफू आमा बन्छे अनिमात्र मातृत्वको महत्व थप बुझ्दै जान्छे । नारी अर्थात आमा सृष्टिको नमुना र ममताको खानी हुन् । त्यस्तो ममताको खानी न कहिल्यै रितिन्छ न कहिल्यै सकिन्छ ।
मैले मेरी आमा झर्कीएकोे कहिल्यै देखिनँ, रिसाएको देखिनँ । अझ भनौं मैले आजसम्म पनी आमाको ठूलो स्वर सुनेकी छैन । जस्तो परिस्थितिमा पनि आमाले आफ्नो ओठको मधुर मुस्कान कहिले छोड्नु भएन । मुसुस्क मुस्कुराएर मात्र बोल्ने आमाको स्वभावले जस्तो रिसाएका मानिसहरुलाई पनि शान्त वनाउने शक्ति छ । आमाको धर्यता, सहनशीलता र लगनशीलता देखेर मलाई नै अच्चम लाग्छ, कस्तो अद्भूत क्षमता अनि कति फराकिलो मन ।
बाल्यकालमा म अति नै छुकछुके र चकचके थिए रे । तर आमाका लागि मेरो सबै उपद्रो अनजानका गल्ति थिए । उपद्रो गरेको कारण होस् वा विद्यालय जान नमानेर रुदै गाउँतिर दौडिएको घटना हुन् आमाका हात मेरो लागि कहिल्यै उठेनन् । थप्पड खाएको सम्झना नै छैन मलाई । जे गर्नुभयो आफ्नो ममताले फकाई फुल्याई गर्नुभयो ।
विवाह भएको लामो समयपछि जन्मिएको सन्तान त्यसमा पनि छोरी ! समाजका धेरै वुज्रुकहरुले नाक खुम्च्याउथे रे । तर आमाको लागि म छोरी भन्दा पनि सन्तान थिए । उहाँले कहिल्यै छोरा र छोरीको विभेद गरेर आफ्नो मातृत्वलाई साघुर्याउनु भएन । खुम्च्याउनु भएन । समाजका लागि म उहाँको छोरी थिएँ तर मेरो आमा र बुवाको लागि सन्तान । आफूले नौ महिना गर्वमा राखेर, प्रसवको पीडा र दर्द सहेर सन्तानलाई धर्तीमा ल्याउदा कुन चाहीँ आमाको मन प्रफुल्लित नहुँदो हो ? समाजवाट मेरी आमाको अप्रत्यक्ष रुपमा धेरै प्रश्नहरुको सामना गर्नुपर्यो । विवाह भएको धेरैपछि मात्रै सन्तान जन्मियो भन्ने एक र बल्त तल्ल जन्मिभएको सन्तान पनि छोरी दोश्रो । यस्ता समाजको अप्रत्यक्ष प्रश्नलाई आमाले धर्यताका साथ ग्रहण गर्नु भयो । तर यतिले मात्रै समाजका वुज्रुकको प्रश्न रोकिएन र सकिएन ।
एउटा मात्रै सन्तान त्यसमा पनि छोरी ? अब यो प्रश्न मेरी आमालाई आजीवन समाजले प्रत्यक्ष र अप्रत्यक्ष सोधिरहने प्रश्न बनेको छ । केहि उच्च र शिक्षित परिवारमा लैगिंक विभेद नभए पनि गाउँघर र शिक्षाको पहुच बाहिर अझ भनौं पितृसत्तात्मक र पुरातनवादी सोच भएको परिवारमा छोरा अनिवार्य जस्तो नै छ । समाज र परिवारको बाध्यता मात्रै होईन छोराकै चाहनाले गर्दा ८ –९ जना छोरी जन्माउने आमालाई मैले धेरै नजिकवाट नियाल्ने मौका पाएकी छु ।
९ जनासम्म छोरी जन्माएर पनि एउटी आमाले समाजको प्रश्नबाट उन्मुक्ति पाउन नसकेर श्रीमानलाई दोश्रो बिहे गर्न स्विकृती दिनुपर्ने समाजिक र पारिवारिक बाध्यताका बीच मेरी आमाले एउटी मात्रै छोरी जन्माएर हुर्काएर शिक्षा दिक्षा दिएर छोरी पनि छोरासरह नै हुन् र आमाका लागि आफ्ना सन्तान सधै बरावर हुन् भन्ने उदाहरण दिन सफल हुनुभयो ।
आमासँंग बाहिर हिड्दा धेरैले मेरो अगाडि मेरी आमालाई छोराछोरी कति भनेर प्रश्न गर्छन् । मेरी आमालाई राम्रोसँंग थाहा छ आफ्नो उत्तरले उनीहरुले आमामाथि सहानुभूति दर्शाउने छन्, ‘विचरा छोरा भएन छन् है ! एउटा त छोरा चाहिन्थ्यो ....।’ तर आमाले मलाई देखाउदै कति गर्वका साथ भन्नु हुन्छ यही हो मेरो सन्तान मेरो छोरी । आमाको लागि म पहिला सन्तान हुँ अनिमात्र छोरी ।
मलाई लाग्छ सवै आमाहरु यस्तै हुन्छन् । आमको लागि आफ्नो सन्तान सधै निर्दोष नै हुन्छन्, जस्तै ठूलाे गल्ति गरे पनि त्यो अन्जानमा गरेको गल्ति ठहरिन्छ आमाको न्यायको अदालतमा । संसारमा आमाको न्यायको अदालत मात्रै यस्तो पवित्र न्यायालय हो जहा आफ्ना सन्तानको अक्षम्य गल्ति र अपराधको सजाय पनि माफी हुनसक्छ ।
आमाले सधै सम्झाउनु हुन्छ कहिल्यै अरुको चित्त नदुखाउनु, अरुसंँग वोल्दा झर्कीएर नबोल्नु, आफ्नो कारणले कहिल्यै अरुको मन नदुखोस् । हरेक सन्तानको पहिलो पाठशाला घर हो र आमा पहिलो शिक्षिका हुन् । मेरो लागि आमा परिपक्क एक शिक्षिका हुनुभयो । जसले सधै समाजका सकारात्मक र नकारात्मक कुरा कुरालाई मनन गरेर अगाडि बढ्न प्रेरणा दिई रहनु भयो ।
आमाले सधै भन्ने एउटा कुरा मेरो दिमागमा घुमिरहन्छ । आफूले गरेका कामहरुबाट समाजले औला ठ्डयाउदैमा पछि नहट्नु । तर यदि आफ्नो कामवाट आत्माग्लानी हुन्छ भने त्यो बाटोमा अगाडि कहिल्यै नबढ्नु ।
सवै आमा महान हुन्छन्, आमाको ममताको न्यायलय फराकिलो र वृहत छ । संसारका सवै आमाहरुप्रति नमन । (रचना रायमाझी पत्रकार हुनुहुन्छ ।)