समाज

बृद्धहरुका प्रिय प्रधानमन्त्री मनमोहन अधिकारी

बृद्धहरुका प्रिय प्रधानमन्त्री मनमोहन अधिकारी

वैशाख १३ । २०५२ असार १७ गते शनिबारको मध्याह्न हामी प्रधानमन्त्री मनमोहन अधिकारीको निवास बालुवाटारमा केही वृद्धहरूसँगको छलफलमा थियौँ । तत्कालीन उच्चस्तरीय भूमिसुधार आयोग, पछि बहुचर्चित बडाल आयोगका अध्यक्ष केशव बडालले काभ्रेका केही वृद्धलाई प्रधानमन्त्रीसँग भेटाउन त्यहाँ ल्याउनुभएको थियो ।

रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रमका सञ्चालक कुन्दन अर्याल र ‘दृष्टि’ साप्ताहिकको संवाददाताका रूपमा म प्रधानमन्त्रीको अतिथि कक्षमा उपस्थित थियौँ । आधा दर्जन वृद्धहरू त्यहाँ प्रधानमन्त्रीसँग मच्ची–मच्ची गफ गरिरहेका थिए ।

‘हामी दुस्ख पाएर यहाँ आएका होइनौँ, सुख पाएकाले आएका हौँ । पहिले काभ्रेदेखि यहाँसम्म हिँडेर आवत–जावत गथ्र्यौं, भक्तपुरसम्म ट्रली पुगेपछि ठूलो सुविस्ता भयो । मोटर बनेपासम्म पुग्यो, हामीलाई झनै सुख भयो । अहिले त गाउँमै पुगिसक्यो, यसभन्दा सुख मर्ने बेलामा अब अरू के होला ? त्यसैले जनताको जय होस्, नेपाल उज्यालो होस् भन्न आएका हौँ ।’ त्यस दिन काभ्रे शारदा बतासेका चन्द्रबहादुर अधिकारी (८१) र नेत्रबहादुर विष्ट (८०) ले एमाले सरकारको ‘आफ्नो गाउँ आफंै बनाऔँ’ं कार्यक्रमका कारण आफ्नै गाउँमा मोटर पुगेकोमा खुसी प्रकट गर्दै प्रधानमन्त्रीसमक्ष यसो भन्नुभएको थियो ।

प्रधानमन्त्रीका हैसियतमा मनमोहनको भनाइ थियो, ‘तपाईंहरू यो उमेरमा त्यति टाढाबाट आउनुभयो, आशिर्वाद दिनुभयो, यसले हामीलाई अझ प्रगतितर्फ लम्कने प्रेरणा मिलेको छ ।

सरकारका तर्फबाट तपाईंहरूजस्तै ज्येष्ठ नागरिकहरूप्रति सम्मान दर्शाउन कुनै ठूलो बेतन त होइन, सद्भावनास्वरूप वार्षिक १२ सय भत्ता दिने व्यवस्था गरेका छौँ । यो सानो रकमले घ्यु खान त पुग्दैन, आफ्नो इच्छाअनुसार खर्च गर्न र अम्मल भएकाले सुर्ती खान अवश्य पुग्नेछ !’ प्रधानमन्त्रीको यस्तो भनाइ सुनेर सुन्थानका होमबहादुर केसी (७१) र पनौतीका देवराज शाक्य (८७) ले एकसाथ धन्यवाद ज्ञापन गर्दै थप्नुभयो, ‘यो उमेरमा तपाईंसँग भेट्ने अवसर पायौँ । पहिलोपटक तपाईंले जस्तो राम्रो काम आजसम्म कसैले गरेका छैनन् ।

सरकारका राम्रा कामले जनता खुसी छन् । गाउँमा पठाएको बजेटले ससाना काम भइरहेका छन् । मान्छे बूढो भए पनि जोश देखाउनुभयो । हामीजस्तै एकजना वृद्ध प्रधानमन्त्री भएर देशमा यति राम्रो काम गरिरहनुभएकोमा असाध्यै खुसी लागेको छ । अब चुनाव हुँदैछ, तपाईंहरूलाई जनताले फेरि जिताउन् । हाम्रो पनि पुरा सद्भाव र आशिर्वाद छ कि चुनावमा बहुमत ल्याएर अझ राम्रो काम गर्नुहोस् †’ काभ्रे शारदा बतासेका अध्यक्ष सोमध्वज थापाको नेतृत्वमा आएको वृद्धहरूको त्यस टोलीसँग प्रधानमन्त्रीले करिब एक घन्टा बिताउनुभयो ।

सरकारमा पुगेपछि मनमोहन अधिकारी नेतृत्वको सरकारले पहिले पूरक बजेटमार्फत घोषणा र्गयो, ‘देशका ज्येष्ठ नागरिकको सम्मान गर्नु तथा जीवनयापनमा टेवा र्पुयाउनु राज्यको कर्तव्य भएकाले आगामी आर्थिक वर्षदेखि ७५ वटै जिल्लाका ७५ वर्ष उमेर पुगेका सम्पूर्ण ज्येष्ठ नागरिकलाई प्रतिमहिना १०० रुपियाँका दरले ज्येष्ठ नागरिक भत्ता दिने व्यवस्था मिलाइएको छ ।’ त्यसपछिका कुनै चुनावमा नेपाली काङ्ग्रेस वा अरू पक्षलाई दुष्प्रचारको विषय बाँकी रहेन । ज्येष्ठ नागरिक भत्ताको थालनीले मुलुकभर छोरा, नाति र बुहारीहरूको हेँलाहोचो र उपेक्षा भोग्न विवश एवं दिएको भाग खाएर दिन गुजारा गरिरहेका बूढाबूढीको आत्मसम्मान एकैपटक माथि उठायो ।

जिन्दगीको उत्तराद्र्धमा दिनगन्ती गरिरहेका वृद्धवृद्धाको कम्तीमा वर्षे्नि १२ सय आफ्नै आम्दानी भयो । जुन रकम उनीहरूले आफ्नो इच्छाअनुसार खर्च गर्न, मन लागेको चिज किनेर खान र लाउन खर्च गर्न पाउने भए । यही रकमका कारण घरभित्र पनि उनीहरूको सम्मान र हेरचाह बढ्यो । यसरी सामाजिक सुरक्षाको कार्यक्रम थालनीका दृष्टिले नौमहिने सरकार इतिहासकै एउटा स्वर्णकाल हुनपुग्यो ।

राम्रो कामको थालनी

मनमोहन अधिकारीलाई हटाएर २०५२ मै प्रधानमन्त्री शेरबहादुर देउवा वा निर्वाचित प्रधानमन्त्री देउवालाई बर्खास्त गरेर २०५९ असोज १८ पछि गठित सरकारका अर्थमन्त्री डा. बद्रीप्रसाद श्रेष्ठ र डा. प्रकाशचन्द्र लोहनीहरूसमेत यस कार्यक्रमलाई निरन्तरता दिन बाध्य हुनुपरेको थियो । देउवा नेतृत्वको मिलीजुली सरकारका अर्थमन्त्री डा. रामशरण महतले प्रस्तुत गरेको ०५३ को बजेटमा उल्लेख छ, ‘देशको अर्थतन्त्रले थेग्नसक्ने अनुपातमा आर्थिक सुरक्षा प्रदान गर्न केही समयदेखि सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता तथा ६० वर्ष नाघेकाको निम्ति असहाय भत्ताजस्ता सुरक्षाका कार्यक्रम आगामी आर्थिक वर्षमा समेत कायमै राखिनेछ ।’

मनमोहन अधिकारीलाई सरकारबाट हटाउन सफल हुनुभएका देउवाले अर्थमन्त्रीको समेत हैसियतमा ०५९र६० को बजेट प्रस्तुत गर्दा भन्नुभएको थियो, ‘ज्येष्ठ नागरिक, असहाय, विधवा, अन्धा–अपाङ्गलाई प्रदान गरिआएको सामाजिक सुरक्षाको कार्यक्रमलाई निरन्तरता दिइएको छ ।’ त्यस लगत्तै बनेको थापा सरकारका अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले ०६० को बजेट वक्तव्यमा उल्लेख गर्नुभयो, ‘ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग तथा विधवाहरूलाई सरकारले प्रदान गर्दै आएको भत्ताको रकमबापत ६० करोड रुपियाँ विनियोजन गरिएको छ ।’

अरूका निम्ति नमुना

ज्येष्ठ नागरिक भत्ता समयमै निकासा नदिने सरकारको गलत रवैयाको सत्ताबाहिर हुँदा पनि मनमोहन अधिकारीले खबरदारी गर्नुभयो । २०५५ सालमा काठमाडौँको भद्रकालीमा सयौँ वृद्धवृद्धाले सडकमा धर्ना दिएर माग गरे, ‘हाम्रो भत्ता तत्काल निकासा देऊ †’ उक्त धर्नामा मनमोहन अधिकारीले वृद्धहरूकै साथ र अग्रपङ्क्तिमा रहेर घन्टौँसम्म तातो सडकमा धर्ना बसेर सरकारलाई वृद्धभत्ताको निकासा र ज्येष्ठ नागरिकको यथोचित सम्मानका निम्ति दबाब दिनुभएको थियो ।

देशभित्र मात्रै होइन, ज्येष्ठ नागरिक सम्मानको कार्यक्रमले विदेशीहरूलाई पनि आकर्षित गर्न सक्यो । दक्षिण एसियाका निम्ति यो एउटा नमुना प्रयोग ठहरियो । वृद्धभत्ताको कार्यक्रम नेपालभन्दा केही पछि भारतको पश्चिम बंगालमा समेत थालनी गरियो । त्यसको प्रेरणाको स्रोत प्रधानमन्त्री अधिकारी र उहाँले नेतृत्व गरेको नौमहिने सरकार थियो ।

जनताको छोराले पाउने उच्च पदमा आसिन हुँदासमेत गाउँको विकास, असहाय, उपेक्षित र डाँडामाथिको जून बनेका ज्येष्ठ नागरिकको सम्मान गर्न तथा मुलुकको अन्तर्रा्ष्ट्रिय छवि उज्यालो बनाउन, असमानता, भेदभाव र थिचोमिचोको अन्त्य गर्न अल्पमतको सरकारको कुशलतापूर्वक नेतृत्व गर्नुभयो । सत्ताको शिखरमा हुँदा होस् या नहुँदा उहाँ लोकप्रिय राजनेताका रूपमा जनताको हृदयमा सम्मानित हुनुभयो । प्रधानमन्त्री भइसकेका सबै सत्ताबाहिर पुग्दासमेत मनमोहनको जस्तो सम्मान, स्वच्छ र निश्कलङ्क छवि तथा लोकप्रियता कायम राख्न कहाँ सक्छन् ? मनमोहन अधिकारीले सत्ता र सङ्घर्ष दुबै कालखण्डमा नेतृत्व गर्दा आफ्नो सम्मान र लोकप्रियता घटाउनु भएन, उहाँलाई अख्तियारले पुर्जी काट्ने स्थितिको त कल्पनै नगरौँ, नातागोताले घेरेर अनुचित फाइदा उठाउने स्थितिबाट समेत सयकोस टाढै रहनुभयो । ज्येष्ठ नागरिक सम्मान उहाँको सरकार सम्झने एउटा आँखीझ्याल मात्र हो ।

२०४६ पछिको १२ वर्षमा मात्र होइन, ०६२–६३ को जनआन्दोलनपछि र ०६५ जेठ १५ गते पहिलोपटक संविधानसभाले गणतन्त्रको नयाँ युग थालनी गरेपश्चात समेत यो कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रचण्डको नेतृत्वमा अर्थमन्त्री बाबुराम भट्टराईले वृद्धभत्ताको रकम बढाई ५०० र्पुयाउने बजेट पारित गराए । त्यसपछि माधवकुमार नेपालको नेतृत्वको सरकारले त्यसैलाई निरन्तरता दिनुर्पयो । तत्पश्चात् झलनाथ खनालको नेतृत्वको सरकारले १,००० र केपी शर्मा ओली नेतृत्वको सरकारले २,००० रुपैयाँ र्पुयाएको विदितै छ ।

अहिलेको सरकार नयाँ बजेटमार्फत वृद्धभत्ता पुनस् दोब्बर अर्थात ४,००० बनाउने गृहकार्यमा जुटेको चर्चा छ । यसरी यो सबैका निम्ति अनुकरणीय कार्यक्रम बनेको छ । र मनमोहन अधिकारी ज्येष्ठ नागरिकहरूका प्रिय प्रधानमन्त्रीका रूपमा सम्पूर्ण वृद्धवृद्धाको हृदयमा अमर रहनुभएको छ ।

कान्तिपुरमा प्रकाशित सुर्य थापाको लेख

विशेष