समाज

चुनावकाे चहपहलले छाेएन कुमाल समुदायलार्इ

चुनावकाे चहपहलले छाेएन कुमाल समुदायलार्इ
वैशाख - १३ । नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचनले जिल्लाभर चहलपहल ल्याएपनि पाल्पाको कुमाल समुदायमा चुनावी सरगर्मी बढ्न सकेको छैन । बाह्रै महिना घरखर्चको जोहो गर्नुपर्ने बाध्यतामा रहेका पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दामा बासिन्दासम्म चुनावी प्रचार र चहलपहल पुग्नै सकेको छैन । कुमाल समुदाय आदिवासी जनजातिअन्तर्गत आर्थिकरुपमा विपन्न समुदायका रुपमा रहिआएका छन् । राज्यको प्रशासनिक निकायमा कमजोर सहभागिता रहेको कुमाल समुदाय कला संस्कृतिका दृष्टिमा भने धनी जातिका रुपमा लिइन्छ । परिवारको लागि घरखर्च जुटाउन बाह्रै महिना मजदुरी गर्ने यहाँका कुमाल समुदाय गरिबीले चुनाव केद्रिन्त हुन नसकेको स्थानीयवासी कुलबहादुर कुमालले बताए। “गरिबीले गर्दा साथमा पैसा छैन, पैसा नभएपछि परिवार पाल्न मुस्किल हुँदो रहेछ, त्यसैले पहिला साँझ बिहान चुलोमा आगो बाल्नु नै पहिलो काम रहेछ,” उनले भने, “हाम्रो ऋण छ, पैसा र विकास दिदैनन् । त्यसैले निर्वाचनप्रति चासो घटेको हो ।” स्थानीय कान्छी कुमालले भनिन् –“पैसा छैन । ऋण छ, कसैले पनि तिरिदिँदैनन् । त्यसैले चुनावले छुन नसकेको हो । पहिला भोट माग्न आउनेहरु पनि भोट माग्न आएका छैनन् ।” पचपन्न वर्षीय कुलबहादुर पञ्चायतकालमा समेत गाउँ पञ्चायतमा निर्विरोध सदस्य बनेका थिए। पाल्पा सदरमुकाम तानसेन नजिकै रहेको घोरबन्दामा १२० कुमाल परिवार भएपनि चुनावमा प्रशस्त पैसा खर्च गर्न नसक्ने भएकाले यो समुदायको कोही पनि उम्मेदवार बन्ने मनस्थितिमा नभएको स्थानीय युवा तामबहादुर कुमालले बताउँछन्। यहाँको कुमाल वस्ती शिक्षा, स्वास्थ्य, सडक, खानेपानी जस्ता आधारभूत सुविधाबाट समेत वञ्चित छन् । पाल्पाको छहरारैनादेवी, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिका र रामपुर नगरपालिकालगायतका स्थानमा कुमाल समुदायको बाक्लो बस्ती रहेपनि स्थानीय तहमा यो समुदायको प्रतिनिधित्व कमजोर हुने देखिएको छ ।

विशेष