समाज

सडक दुर्घटनामा मृत्यु हुनेमा पैदल यात्रु धेरै

सडक दुर्घटनामा मृत्यु हुनेमा पैदल यात्रु धेरै

वैशाख १५ । गतवर्ष फागुनमा अर्जुन सेवाले चलाएको माइक्रो बसले किच्दा पैदलयात्री चिकित्सकद्वय सन्दीप सुवेदी र सोनी आनन्दको घटनास्थलमै मृत्यु भयो । बा १ य ४३ नम्बरको पर्यटक बोक्ने हरियो प्लेटको माइक्रोको अचानक ब्रेक फेल हुँदा उनीहरूलाई किच्यो। बानेश्वरस्थित विद्या संस्कार विद्यालयका विद्यार्थी बोकेको उक्त बसले महाराजगञ्जस्थित कान्ति बाल अस्पताल ओरालोमा सडक छेउमा हिँडिरहेको अवस्थामा उनीहरूलाई किचेको हो ।

गतवर्ष नै तीनकुनेबाट बबरमहलतर्फ गइरहेको ना ५ ख २६१८ ट्रिपरले ठक्कर दिँदा नयाँ बानेश्वर चोकमा ७३ वर्षीया लक्ष्मी रेग्मीको मृत्यु भयो । सडकछेउमा हिँडिरहेकी उनलाई गाडीले ठक्कर दिएको हो । उपत्यका ट्राफिक महाशाखाले आर्थिक वर्ष २०६८–०६९ देखि ०७३–७४ चैतमसान्तसम्मको सवारी दुर्घटनाको तथ्याङ्कलाई केलाउँदा सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४१ प्रतिशत पैदल यात्रु भएको देखिएको छ। यो अवधिमा ७ सय २० जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । तीमध्ये २ सय ९६ जना पैदलयात्री छन् ।

आव ०६९–७० मा १ सय ४८ मृतकमध्ये ६३ जना पैदल यात्रु छन् भन् ०७०–७१ मा १ सय ४३ जना मध्ये ५३ जनालाई पैदल हिँडिराखेको बेला गाडीले ठक्कर दिएको र उनीहरूको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । ०७१–७२ मा १ सय ३३ जनाको मृत्यु भएको छ जसमध्ये ५७ जना पैदल यात्रु छन् ०७२–७३ मा १ सय ६६ जनाको मृत्यु भएको छ, त्यसमध्ये ५७ पैदल यात्रीको मृत्यु गाडीले ठक्कर दिएर भएको हो ।

त्यसैगरी ०७३–७४ चैत्र मसान्तसम्म १ सय ३० जनाको सवारी दुर्घटनामा मृत्यु भएकोमा ५८ पैदल यात्री छन् । महाशाखाका डिआइजी मिङमार लामाका अनुसार सडक शिक्षाको कमी, कमजोर सडक संरचना, पैदल यात्रुमा जनचेतनाको अभाव र सवारी चालकको लापरबाहीले गर्दा पैदलयात्रीको मृत्यु हुने गरेको छ। ‘फुटपाथमा पसल, सवारी साधन पार्किङ गर्छ,’ उनले भने, ‘त्यसले पैदलयात्रीलाई मुख्य सडकमा हिँड्न बाध्य गराउँछ, पैदलयात्रीलाई गाडीले ठक्कर दिन्छ ।’ साथै, जेब्रा क्रसिङमा चालक तथा पैदलयात्रीले लापरबाही गर्नु पनि दुर्घटनाको कारण भएको उनको भनाइ छ ।

पछिल्लोपटक सडकमा व्यवस्थित ट्राफिक लाइट नहुँदा दुर्घटना बढेको उनले बताए। भएका संरचना पनि पैदल यात्रुले प्रयोग नगर्ने, सडकपेटीमा सावधानीपूर्वक नहिँड्ने कारणले पनि सडक दुर्घटनामा मृतक संख्या बढ्ने गरेको छ। उनका अनुसार जेठ पहिलो सात्तादेखि फुटपाथमा नहिँडी मूल सडकबाट हिड्ने पैदल यात्रीलाई ट्राफिक प्रहरीले कारबाहीरजरिवाना गर्ने तयारी गरेको छ। साथै, ट्राफिक बत्ती जोड्नेबारे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल भइरहेको उनले जानकारी दिए। जापान सरकारको सहयोगमा १५ वर्षअघि उपत्यका एक दर्जनभन्दा बढी स्थानमा निर्माण गरिएका ट्राफिक लाइट बिग्रिएका छन् ।

कालीमाटी, कोटेश्वर, नयाँ बानेश्वर, माइतीघर मण्डला, थापाथली, पुतलीसडक, पद्मोदय मोड, शंकरदेव क्याम्पस, कृष्ण पाउरोटी, जय नेपाल हल र दरबारमार्गमा निर्मित ट्राफिक लाइट बिग्रिसकेका छन् । केशरमहल, न्युरोड, भोटाहिटी, सिंहदरबार, नागस्थान र जमल लगायतका स्थानमा जडान गरिएका ट्राफिक लाइटले पनि काम दिँदैनन् ।

कान्तिपुर

Accident Accident in lalitpur

विशेष