स्वास्थ्य

चाैबीसै घन्टा सेवा दिने गरी अञ्चल अस्पतालको आफ्नै ‘फार्मेसी’

चाैबीसै घन्टा सेवा दिने गरी अञ्चल अस्पतालको आफ्नै ‘फार्मेसी’
वैशाख - १५ । धवलागिरि अञ्चल अस्पतालले आफ्नै औषधि वितरण केन्द्र (फार्मेसी) सञ्चालनमा ल्याएको छ ।स्वास्थ्य मन्त्रालयले केही समयअघि अस्पतालले आफैँ ‘फार्मेसी’ चलाउनुपर्ने नियम बनाएको थियो । केन्द्रबाट ५६२ प्रकारका औषधि उपलब्ध हुने अस्पतालका प्रमुख चिकित्सक सागरकुमार राजभण्डारीले बताए । 'चौबीसै घन्टा सेवा दिने गरी फार्मेसी खुलेको छ', चिकित्सक राजभण्डारीले भने – 'बिरामीले अब १० देखि ५० प्रतिशतसम्मको छुटमा औषधि पाउँछन् ।' केन्द्रमा उपलब्ध हुने औषधिको सङ्ख्या थप्दै जाने योजनामा अस्पताल छ । अस्पतालभित्रै ‘फार्मेसी’ खुलेपछि महँगो मूल्यमा बाहिरबाट औषधि किन्नुपर्ने बाध्यताबाट बिरामीले छुटकारा पाएका छन् । स्वास्थ्य बिमा कार्यक्रम र विपन्न नागरिकको उपचारका लागिसमेत सोही ‘फार्मेसी’ बाट निःशुल्क रुपमा औषधि वितरण हुनेछ । ‘फार्मेसी’को प्रभावकारिता बढाउन औषधि र जनशक्ति व्यवस्थापनमा अस्पताल लागिपरेको समितिका अध्यक्ष मल्लले बताए । उनले गुणस्तरीय सेवा प्रवाहका लागि अस्पताल सुधारका प्रयास अघि बढेको समेत जानकारी दिए । 'सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढाउनुपर्ने खाँचो छ', अध्यक्ष मल्लले भने – 'हामी त्यसकै लागि दिनरात खटेका छौँ ।' उनले लामो समयदेखि रिक्त रहेका दरबन्दीमा विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मी खटेको बताए । अस्पतालमा अहिले फिजिसियन, स्त्रीरोग विशेषज्ञ, रेडियोलोजिस्ट, अर्थोपेडिक सर्जन, एनेस्थेसियोेलोजिस्ट, डेन्टल सर्जनलगायतका विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् । दरबन्दीअनुसार अझै पनि चिकित्सक र अन्य स्वास्थ्यकर्मीको अभाव छ । नियमित सेवाका अतिरिक्त केही नयाँ सेवा थप गरिएको अस्पतालले जनाएको छ । सुरक्षित गर्भपतन सेवालाई गत पुसदेखि निःशुल्क गरिएको प्रमुख चिकित्सक राजभण्डारीले बताए । हरि खड्का ट्रमा सेन्टर र डायलाइसिस सेवा सञ्चालनको तयारीमा अस्पताल रहेको छ । विसं २०६७ मा अञ्चल अस्पतालमा परिणत भएको यस अस्पतालको निर्माणाधीन भवन समयमै पूरा नुहँदा सेवा सञ्चालमा कठिनाइ भएको छ । भवनको ‘ए ब्लक’ बाट अस्पताल सञ्चालनमा आए पनि बाँकी ‘बी’, ‘सी’ र ‘डी’ ब्लक अहिले पनि निर्माणको चरणमा छन् । ठेकेदार कम्पनीको लापर्बाहीका कारण भवन निर्माणमा ढिलाइ भएको अस्पतालले जनाएको छ ।

विशेष