देश

धनगढी-अत्तरिया ‘छ लेन’ सडक निर्माण सुरु भएन

धनगढी-अत्तरिया ‘छ लेन’ सडक निर्माण सुरु भएन
वैशाख - १४ । कैलालीस्थित मोहनापुल धनगढीदेखि अत्तरियासम्मको ‘छ लेन‘को सडकको निर्माण कार्य सुरु हुन सकेको छैन । गत मङ्सिरमा सुरु गर्ने भनिएपनि हालसम्म यसको निर्माण कार्य सुरु भएको छैन । 'सबै प्रक्रिया पूरा गर्नु पर्दा समय लागेकोले निर्माण समयमै सुरु हुन नसकेको हो', मोहनापुल अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले भने, 'वातारणीय प्रभाव परीक्षण (आइइइ) सकिना साथ काम अघि बढाइने छ ।' आगामी जेठको पहिलो साताबाट काम अघि बढ्ने उनले बताए । धनगढी उपमहानगरपालिकाको मोहना नदीको पुलदेखि अत्तरिया नगरपालिकाको अत्तरिया चोकसम्मको जम्मा १४ दशमलव १७ किलोमिटर लामो यो सडकमध्ये सहरी क्षेत्रको १० किलोमिटर लामो भागमा छ लेनको र ग्रामीण भागमा चार लेनको सडक निर्माण गर्ने लक्ष्य लिइएको छ । सडक विभागको उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयअन्तर्गत निर्माण हुनलागेको यो सडकको लागत करिब दुई अर्ब १५ करोड अनुमान गरिएको बताइएको छ । अत्तरियादेखि धनगढीको मोहनासम्मको हालको सडक निकै साँघुरो एवम् जीर्ण हुँदा आवागमनमा कठिनाई उत्पन्न हुने भई बेलाबखत सडक दुर्घटना हुने गरेका छन् ।

सडक निर्माण

विशेष