प्रवास

साउदीमा जेल परेका दुर्इ युवाद्वारा 'ब्लड मनी'का लागि पहल गरिदिन सरकारसँग माग

साउदीमा जेल परेका दुर्इ युवाद्वारा 'ब्लड मनी'का लागि पहल गरिदिन सरकारसँग माग
वैशाख - १५ । सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा जेल परेका दुई नेपालीका आफन्तले अदालतको आदेश अनुसारको ‘ब्लड मनी’ का लागि आफूहरुसँग रकम नभएको भन्दै सरकारसँग सहयोगको लागि आग्रह गरेका छन् । कुलेखानी, मकवानपुरका दिनेश गोले र मध्यबिन्दु नगरपालिका, नवलपरासीका थानेश्वर भुसालका आफन्तले शुक्रबार पत्रकार सम्मेलन गरी आफूहरु गरिब परिवार भएकाले अदालतले आदेश गरेअनुसारको ठूलो रकम तिर्न नसक्ने भएकाले सरकारको तर्फबाट सो रकम मिनाहा गर्न वा रकम तिर्नका लागि पहल गरी दिन माग गरेका हुन् । गोलेका बुबा ठूलाकान्छा गोलेले आफ्नो छोरा साउदीमा ट्याङ्कर चालकको काम गरिरहेको र सोही क्रममा रोकीराखेको ट्याङ्करमा जिपले ठक्कर दिँदा जिपमा सवार चार जनाको मृत्यु भएको घटनामा आफ्नो छोरासँग ७५ हजार साउदी रियालअर्थात् नेरु २० लाख बराबर क्षतिपूर्ति स्वरुप ‘ब्लड मनी’का रुपमा अदालतले मागेको जानकारी दिए। उनले भने– 'छोरो पठाउँदा बन्धकी राखेको दुई रोपनी जग्गा अझै झिक्न सकेको छैन, त्यत्रो रकम कहाँबाट खोज्नु ।' त्यस्तै भुसालकी आमा यमकला भुसालले छोरा साउदीमा सवारी चालकको रुपमा काम गर्दैगर्दा अर्को सवारीसाधनसँग ठोक्किन गई दुई जनाको ज्यान गएको र छोरो पनि घाइते भएको बताइन्। साउदी अदालतले एक लाख ५० हजार रियालअर्थात् ४० लाख बढी रकम तिर्नुपर्ने फैसला गरे पनि आफूहरुसँग सो रकम तिर्ने कुनै स्रोत नरहेकाले सरकारले यसका लागि पहल गर्नुपर्ने माग गरे। कार्यक्रममा प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले प्रधानमन्त्रीले गत माघमा विदेशको जेलमा रहेका र ‘ब्लड मनी’ माग गरिएकाको सरकारले रकम तिर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन नभएको बताए। सरकारले साउदीस्थित दूतावासबाट पहल गरे आउँदै गरेको इस्लाम धर्मावलम्बीको पर्व रमजानमा धेरै नेपालीले माफी पाउने सम्भावना रहेको औँल्याए।

saudi

विशेष