स्वास्थ्य

‘मेरो वर्षः म स्वस्थ..’ अभियानबारे वैशाख २१ गते देशव्यापी कार्यक्रम

‘मेरो वर्षः म स्वस्थ..’ अभियानबारे वैशाख २१ गते देशव्यापी कार्यक्रम
वैशाख - १५ । ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियानबारे सबैलाई जानकारी गराउने उद्देश्यले यही वैशाख २१ गते देशव्यापी कार्यक्रम हुने भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले शुक्रबार देशभरका जिल्ला स्वास्थ्य कार्यालयलाई परिपत्र जारी गर्दै अभियानबारे कार्यक्रम गर्न निर्देशन दिएको छ । विसं २०७४ ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानका रुपमा मनाउने घोषणा गर्दै वैशाख १ गते प्रधानमन्त्रीले दशरथ रंगशालाबाट यसको शुभारम्भ गरेका थिए । वर्षभरि सञ्चालन हुने अन्य कार्यक्रमसँगै सो अभियानलाई जोडेर स्थानीय तहसम्म लगिने योजनानुरुप जिल्लालाई परिपत्र जारी गरिएको सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले बताए । नेपालमा धूमपान र मद्यपानको अत्यधिक सेवन, खाद्यपदार्थमा विषादीको प्रयोग, वातावरणीय पक्षलेसमेत जनताको स्वास्थ्य प्रतिकूलपारी कडा रोगको जोखिम बढाएकाले रोकथाम र रोगको पहिचानगरी उपचारमा जान अभियानले प्रेरित गर्ने विश्वास मन्त्रालयको छ । ग्रामीण भेगमा ७४ प्रतिशत घरपरिवारमा दाउरा, गुइँठा आदिको प्रयोग गर्दा निस्कने धुवाँ र सहरी क्षेत्रमा घर बाहिरको वायु प्रदूषणका कारणले जनस्वास्थ्य गम्भीर असर पारिरहेको मन्त्रालयको अध्ययन छ । यस अभियानअन्तर्गत नयाँ वर्षमा आफ्नो स्वास्थ्यको हेरचाह गर्न ‘म रक्सी, चुरोट सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ पोषिलो, खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र म र मेरो परिवार समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’, भन्ने प्रतिबद्धता गर्न सरकारले जनतासँग आग्रह गरेको छ । वर्षभरि हुने कार्यक्रम अन्य सम्बन्धित क्षेत्र विद्यालय, उद्योगलगायतसँग पनि सहकार्य गरिनेछ । कतिले आफ्नो स्वास्थ्यको नियमित जाँच गराए भन्ने तथ्यांक राखी अर्को वर्ष थप सुधारगरी अघि बढ्ने मन्त्रालयको भनाइ छ ।

विशेष