मुख्य समाचार

लहानको यातायात व्यवस्था कार्यालयभित्रै बम विस्फोट

लहानको यातायात व्यवस्था कार्यालयभित्रै बम विस्फोट

लहानः अज्ञात समूहले बिहीबार दिउँसो सिरहाको लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा प्रेसरकुकर बम विस्फोट गराएको छ । दिउँसो १ बजेतिर ठूलो आवाजसहित भएको बम विस्फोटमा कुनै मानवीय क्षति नभएपनि कार्यालयको शौचालय भित्ता र झ्यालका सिसा यत्रतत्र छरिएका छन् । बम विस्फोटबाट कार्यालयका भित्तासमेत चर्किएका छन् ।

कार्यालयको माथिल्लो तलामा रहेको शौचालयमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । सेवाग्राहीको भीड लाग्ने सो कार्यालयमा बम विस्फोट हुँदा सेवाग्राहीमा भागदौड मच्चिएको थियो । बम विस्फोटनपछि कार्यालयका सम्पूर्ण कामकाज ठप्प भएको छ भने व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सो कार्यालयका प्रमुख ओमकारप्रसाद न्यौपानेले दिउँसो आफ्नो कक्षामा कार्यालयका कर्मचारीसँग छलफल गरिरहेकाबेला एक्कासि ठूलो बम विस्फोट भएको बताए । कुनैपनि समूहबाट चन्दालगायतको धम्की नआएकाले किन र कसले बम विस्फोट गराएको हो ? यसबारे आफू अनभिज्ञ रहेको प्रमुख न्यौपानेले बताए ।

यता इप्रका, लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले विस्फोट गराउने समूहको खोजी भइरहेको बताए । विस्फोटपछि लहानको अवस्था त्रस्त छ । विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन ।

विशेष